• २३ असार २०८१, आइतबार

जहाँ बाटो त्यहाँ अटो

blog

राधा लुइँटेल 

फिदिम, पुस १० गते । कात्तिक तेस्रो साता पाँचथरको फिदिम–१ की डोमा शेर्पा फिदिमबाट स्कुटर लिएर हिलिहाङ गाउँपालिका–५ मा रहेको आगेजुङ गुम्बातर्फ प्रस्थान गर्नुभयो। गोपेटार बजारसम्म सडक कालोपत्रे भएकाले त्यहाँसम्म पुग्न कठिन भएन। त्यहाँबाट आठ किलोमिटर कच्ची सडक पार गर्दा गुम्बा पुगिन्थ्यो। स्कुटर भर्खरै सिकेकी उहाँलाई कच्ची सडकमा लैजाने हिम्मत भएन। कसरी जाने होला भनेर सोच्न नभ्याउँदै ‘अटो रिक्सा’ आइपुग्यो। एक सय भाडा तिरेर उहाँ गुम्बा पुग्नुभयो र फर्किदा पनि अटोमै फर्कनुभयो। 

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका अनिरुद्र भट्टराई गत दशैँमा पाँचथरको याङवरक गाउँपालिका–२, फलैँचामा आफन्तलाई भेट्न आउँदै हुनुहुन्थ्यो। गन्तव्यमा पुग्नुभन्दा १० किलोमिटर नजिक ओयाम भन्ने स्थानमा पुगेपछि  मोटरसाइकल पन्चर भयो।  दशैँको बेला सबै व्यवसायी नभएकाले ग्यारेजमा पन्चर टाल्ने सेवा पाइएन। अलमल परिरहेका बेला एक स्थानीय बासिन्दाले अटोमा जान सुझाए। ‘यत्ति विकट क्षेत्रमा पनि अटो ? आश्चर्य प्रकट गर्न भ्याउँदा नभ्याउँदै अटो हुइँकिएर आयो। भट्टराईले भन्नुभयो, “शुल्क तिर्नासाथ अटो अगाडि बढ्यो, फर्किदा पनि त्यसैमा  फर्किएँ।” 

पछिल्लो समय पहाडी जिल्ला पाँचथरका गाउँ बस्तीमा व्यवसायिक प्रयोजनका लागि ल्याइएका अटोले यात्रुलाई राहत दिएका छन्। आठवटा स्थानीय तह रहेको यस जिल्लाका ग्रामीण भेगमा जहाँ सडक पुगेका छन् त्यहाँ अटो पनि पुगेका छन्। छोटो दूरीमा हाटबजार भर्न, बिहे, कार्जे र पूजापाठ र आफन्त भेट्न जान सबैभन्दा सजिलो यातायातको माध्यम अटो रिक्सा बनेको छ। 

हिउँदमा धुलौटे सडकमा दुःखसुख गुडे पनि वर्षामा भने यसको यात्रा सहज छैन। कतिपय स्थानमा हिलोमा फस्ने गरेकाले दिनभर आधा बाटोमा अलपत्र पर्नुपर्ने अवस्था आउँछ। ग्रामीण भेगमा धेरैले अटोको सेवा लिइरहेका छन्। 

जिल्लाको नाङ्गीन, लुम्फावुङ, नवमीडाँडा, भारपा र गोपेटारमा सदरमुकाम आउजाउ गर्ने यात्रुलाई अटोले नै ओसारपसार गरिरहेका छन्। आठवटै स्थानीय तहका भित्री बस्तीका ट्र्याक खोलेर खाल्डाखुल्डी पुरिएको बाटोमा अटो पुगेका छन्। पाँचथरमा मात्रै दुई सय भन्दा धेरै अटो सञ्चालनमा छन्। फिदिम नगरपालिकाबाहेक अन्यत्र यस्ता सवारी साधनको दर्ता प्रक्रिया व्यवस्थित गरिएको छैन।

फिदिममा मात्रै ८० वटा अटो 

पाँचथरको फिदिम नगरपालिकाले मात्रै अटो दर्ता गरेर चलाउने व्यवस्था मिलाएको छ। यहाँ ८० वटा अटो दर्ता भएका छन्।

सदरमुकाम फिदिमबाट सेवा दिने अटोले नजिकैका पल्लोटार, जोरसाल, सामदिन र लालीखर्कदेखि जोरपोखरी, पौवाभन्ज्याङ र राँके, भारपा, जोरपोखरी, गोपेटार हुँदै छिमेकी जिल्ला तेह्रथुमका आठराई र सक्रान्ती बजारसम्म यात्रु ओसार्छन्। बजार क्षेत्रभित्र एक सय रुपियाँ भाडा तोकिए पनि बाहिर भने दिने र लिनेको सहमतिअनुसार हुन्छ। हिलिहाङ–६ का गणेश लिम्बू भन्नुहुन्छ,“अटोले मान्छे मात्रै बोक्दैनन्, भेटेसम्म भारी पनि लोड गरेर हिँड्छन, बिरामीलाई अस्पताल पठाउनु परे एम्बुलेन्सको पनि काम गर्छन, बोलाउनेबित्तिकै सेवा दिन आइपुग्ने भएकाले राहत मिलेको छ।” 

तराईका जिल्लामा अटोको प्रयोग व्यापक भए पनि पहाडी जिल्लामा समेत यसबाट लाभ लिइरहेका छन्। पाँचथर तेह्रथुम, ताप्लेजुङ र इलामका ग्रामिण भेगमा पनि व्यवसायिक रूपमा सञ्चालनमा आएका अटो रिक्साले सेवा विस्तार गरिरहेका छन्।

व्यवस्थित गर्न छैन निर्देशिका

गत जेठ दोस्रो साता हिलिहाङ गाउँपालिका–५ को कार्यालयमा एक जना युवकले अटो रिक्सा दर्ता गरिपाउँ भनी निवेदन दिए। वडा कार्यालयले अटो रिक्सा कुन ऐनअनुसार दर्ता गर्ने भन्ने भेउ नै पाएन। वडाध्यक्ष बिर्ख सुहाङले कार्यपालिका बैठकमा अनुभव सुनाउनुभयो । “कार्यालयमा उपलब्ध जनप्रतिनिधि र कर्मचारी कसैबाट अटो दर्ता गर्ने प्रक्रियाको मेसो नपाएपछि छिमेकी फिदिम नगरपालिकामा दर्ता गर्नु भनेर रेफर गरिदियौँ।” हिलिहाङ जस्तै जिल्लाका सातवटै गाउँपालिकामा अटो रिक्सा दर्ता र सञ्चालनका लागि कानुन बनेका छैनन्। “हिलिहाङमा भने आउने हिउँदे सभामा ऐन बनाएर पारित गर्ने योजना छ,” त्यहाँका प्रमूख प्रशासकीय अधिकृत विक्रम लिम्बूले भन्नुभयो।

चारपाङ्ग्रे सवारीसाधन यातायात व्यवस्था विभाग र सो मातहतका कार्यालयमा दर्ता गर्ने कानुनी व्यवस्था भए पनि तीन पाङ्ग्रेको हकमा स्थानीय तहलाई दर्ता र सञ्चालनको अधिकार दिइएको छ।