धीरेन्द्रप्रसाद साह
जनकपुर, पुस ९ गते । मधेश प्रदेश सभाको प्रभावकारी व्यवस्थापन तथा नवनिर्वाचित सभा सदस्यलाई शपथग्रहण गराउने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ । प्रदेश सभा सचिवालयले ११ गते सोमबार दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाएको मधेश प्रदेश सभा (संसद् सचिवालय) का सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो ।
सर्वदलीय छलफलबाट नवनिर्वाचित प्रदेश सभा सदस्यहरूलाई शपथग्रहण गराउन मिति तोकिने, प्रदेश सभा हलमा सत्तापक्ष र प्रतिपक्ष राजनीतिक दलको बसाइ, कुर्सी व्यवस्थापन लगायतको विषयमा सहमति गराउने सचिव यादवले बताउनुभयो ।
प्रदेश सभाको सरसफाइ, टेबल कुर्सीको व्यवस्थापन, माइकको अवस्थाको परीक्षण गर्ने काम भइसकेको उहाँले जानकारी दिनुभयो । शपथ ग्रहणका लागि प्रदेश सभामा निर्वाचितमध्ये ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले शपथग्रहण गराउने उहाँले बताउनुभयो ।
प्रदेशमा थप तीन दलसहित यस पटक १० राजनीतिक दलको प्रतिनिधित्व भएको छ । अघिल्लो सभामा सातवटा मात्र राजनीतिक दलको प्रतिनिधित्व थियो । जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश सभामा पहिलो पटक अर्थात् नयाँ पार्टीको प्रतिनिधित्व कायम भएको छ ।
त्यसबाहेक प्रदेश सभामा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी प्रतिनिधित्व कायम भएको छ । यी सात दलको अघिल्लो सभामा पनि प्रतिनिधित्व थियो ।
प्रत्यक्ष र समानुपातिकसहित प्रदेश सभामा एमाले २३, कांग्रेस २२, जसपा १६, जनमत १३, लोसपा नौ, नेकपा (माओवादी केन्द्र) आठ, नेकपा (एकीकृत समाजवादी) सात, राष्ट्रिय प्रजातन्त्र पार्टी एक, नेपाल सङ्घीय समाजवादी एक र नागरिक उन्मुक्ति पार्टी एक सिट प्राप्त गरेको छ । प्रत्यक्षमा छ जना सदस्य स्वतन्त्रबाट छन् ।
प्रदेश सभामा प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १०७ सभा सदस्य छन् । प्रदेश सरकार बनाउन न्यूनतम ५४ सिट सङ्ख्या आवश्यक पर्छ । कुनै पनि राजनीतिक दललाई एकल बहुमत सिट सङ्ख्या पुगेको छैन । त्यसैले प्रदेशमा दुईभन्दा बढी राजनीतिक दलको संयुक्त सरकार बन्ने निश्चित छ ।
प्रदेशमा कायम भएको दलहरू सरकार बनाउनुअघि दलको नेता छान्न प्रक्रिया पनि सुरु भइसकेको छ । कांग्रेसले दलको नेता छनोट गर्न समिति बनाइसकेको छ । त्यस्तै, दलको नेता बनाउन जनमत पार्टीको बसेको बैठकमा सहमति हुन नसक्दा दलको नेता छनोट गर्ने जिम्मा पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके) लाई दिएको छ । अन्य दल पनि दलको नेता चुन्ने गृहकार्यमा छन् ।