• २३ असार २०८१, आइतबार

सर्पदंश उपचार सेवालाई व्यवस्थित बनाइँदै

blog

विष्णुप्रसाद पोखरेल

दमक, पुस ९ गते । झापाको दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाले सञ्चालन गर्दैआएको सर्पदंश उपचार सेवालाई थप प्रभावकारी बनाउने तथा सिकिस्त बिरामीको उपचारका लागि भेन्टिलेटर सुविधा उपलब्ध गराउने साधारण सभाबाट निर्णय गरेको छ । 

शनिवार आफ्नै भवनमा भएको ३० औँ वार्षिक साधारणसभामा सभापति प्रकाश बुढाथोकीले भावी कार्यक्रम प्रस्ताव गरेकोमा सर्वसम्मत रूपमा यो पास भएको निवर्तमान सभापति लीला गुरागाईँले बताउनुभयो । गत वर्षबाट सर्पदंश उपचार सेवाबाट ८३२ जना बिरामी लाभान्वित हुनुभएको थियो । 

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइराला नेतृत्वको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थद्वारा रेडक्रस सोसाइटीको भवनमा सञ्चालन हुन लागेको बाल अस्पतालसहित सर्पदंश उपचार सेवालाई व्यवस्थित र थप प्रभावकारी बनाइन लागिएको गुरगाँईले बताउनुभयो । 

सर्पदंशका गम्भीर प्रकृतिका बिरामीको यो उपचार सम्भव नभएका कारणले बाहिर पठाउँदा कतिपय बिरामीको बीचबाटोमा नै मृत्यु हुनेगरेकाले यस्तो मृत्यु नहोस् भनेर भेन्टिलेटरसहितको सेवा दिन खोजिएको हो, सभापति बुढाथोकीले भन्नुभयो ।  

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग समन्वय गरेर सर्पदंशका गम्भीर बिरामीहरूको  उपचारको व्यवस्था गर्ने विषयमा सहमति भइसकेको छ, बुढाथोकीले बताउनुभयो । पछिल्लो समय सर्पदंश उपचार मात्र नभएर अनुसन्धान केन्द्रको रूपमा समेत आफूहरूले अघि बढाएको पनि बुढाथोकीले बताउनुभयो ।

दमक वडा नं. ७ का वडाध्यक्ष एवम् कार्यवाहक नगर प्रमुख भीम पौड्यालले सर्पदंश उपचार सेवा र दमकसहित आसपासको क्षेत्रमा रक्तसञ्चार युनिट सञ्चालन गरेर रेडक्रसले धेरैको ज्यान बचाएको बताउनुभयो । सर्पदंश उपचार सेवालाई थप व्यवस्थित गर्ने र सुविधा सम्पन्न बनाउने काममा नगरपालिकाको पनि साथ एवम् सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति एवम् केन्द्रीय सदस्य लोकराज ढकालले रेडक्रसले मानवीय सेवाको क्षेत्रमा गरेको योगदानलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने बताउनुभयो । दमकमा यसको सुरुवात भइसकेको उहाँको भनाइ छ । आफ्नो स्वार्थभन्दा पनि यस क्षेत्रमा मानवीय सेवालाई केन्द्रमा राखेर काम गर्न सक्नुपर्छ उहाँले भन्नुभयो ।