• २३ असार २०८१, आइतबार

सुनकोसीमा पुल

तराईसँग सडक सम्पर्कमा खोटाङ

blog

राजकुमार भट्टराई 

खोटाङ, पुस ९ गते । पहाडी जिल्ला खोटाङ तराईसँग सिधा सडकमा जोडिएको छ। दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा मोटरेबल पक्की पुल सञ्चालनमा आएपछि खोटाङ तराईसँग सिधा सडकमा जोडिएको हो। 

सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत वारिपारि सडक बने पनि नदीमा पुल नहुँदा पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडकखण्डबाट यात्रा गर्न सास्ती थियो। हिउँदमा अस्थायी रूपमा फोक्सिङटार बेलिब्रिज जडान गरेर सवारीसाधन वारपार हुने गरेको थियो। बर्खाको समयमा भने बेलिब्रिज हटाएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा र दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने बाध्यता थियो। 

 खोटाङ र उदयपुर जिल्लाको सिमानामा पर्ने फोक्सिङ्टारस्थित सुनकोसी नदीमा मोटरेबल पक्की पुल बिहीबारबाट सञ्चालनमा आएको हो। यसले तराई आवतजावत गर्न र सामान ढुवानी गर्न जिल्लावासीलाई सहज हुने भएको छ। उक्त पुल सञ्चालनमा आएसँगै जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणसमेत सहज हुने अपेक्षा गरिएको छ। अघिल्लो वर्षहरूमा जस्तो बर्खामा सामानको मूल्य वृद्धि नहुने व्यापारीहरूको भनाइ छ। 

यो निर्माणका लागि १० वर्षअघि नै सम्झौता भएको थियो। छ वर्ष (२०७३ साल चैत, २२ गते) निर्माण सम्पन्न गर्नेगरी २०६९ साल  चैत, २३ गते पुल निर्माणको सम्झौता भएको थियो। निर्माणको जिम्मा पाएको गौरी पार्वती वाईपी जेभीको चरम ढिलासुस्तीले सम्झौता भएको दस वर्षपछि मात्र पुल सञ्चालनमा आएको छ। ठेकेदार कम्पनीको लापरबाहीले हरेक वर्ष अस्थायी बेलिब्रिज जडान गर्दा र हटाउँदा राज्य कोषबाट करोडौँ रकम सकिएको छ। 

खोटाङको खोटेहाङ गाउँपालिका–९, लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५, आँपटार जोड्ने सुनकोसी नदीमा निर्माण गरिएको उक्त पुल ‘आर्क’ डिजाइनको रहेको छ। १२० मिटर लामो पुल २२ करोड ६७ लाख ११ हजार रुपियाँमा पूरा गर्नेगरी निर्माण कम्पनीले ठेक्का लिएको थियो। 

दिक्तेल–गाईघाट सडकखण्ड नाजुक 

दिक्तेल–गाईघाट सडकखण्डको अवस्था भने नाजुक छ। कालोपत्रेको ठेक्का लिएको कम्पनीको लापरबाहीले सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ। नदीमा पुल निर्माण भएर सञ्चालनमा आएपनि पुलसम्म सवारीसाधन पुग्न हम्मेहम्मे हुने गरेको छ। 

जिल्लाको महुरेदेखि राजापानीको सिम्पानी (२२ किलोमिटर) सडक कालोपत्रको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिम्पानी भन्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) सडक खण्डको काम देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले ठेक्का लिएको छ । हाल महुरेदेखि राजापानीको सिम्पानीसम्म सडकको जिम्मा पाएको कम्पनीले काम सुरु गरे पनि सिम्पानी भन्ज्याङदेखि फोक्सिङटारसम्मको कालोपत्रे गर्ने जिम्मा पाएको ठेकेदार भने बेपत्ता छन्।