• २३ असार २०८१, आइतबार

हिमालय रोड सौन्दर्यकरणको काम अघि बढ्यो

blog

सौन्दर्यकरण गरी निर्माणाधीन विराटनगरको हिमालय रोड । तस्बिर : शशिधर पराजुली

गोकुल पराजुली

विराटनगर, पुस ८ गते । विराटनगरको हिमालय रोडलाई सौन्दर्यकरण गर्ने काम अब एक महिनाभित्र सम्पन्न गर्ने विराटगनर महानगरपालिकाले जनाएको छ । निर्माण सम्पन्न भएसँगै त्यसलाई व्यावसायिक उपयोगमा ल्याउने महानगरको तयारी छ ।

सिक्किमको एमजी रोडको नमूनाका रुपमा विराटनगरमा निर्माणाधीन सो रोडको सौन्दर्यकरण गर्दा विभिन्न संरचना निर्माण थालिएको थियो । ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि निर्माण कार्य रोकिएको थियो । महानगरका मेयर नागेश कोइरालाले छिटोभन्दा छिटो निर्माण कार्य सम्पन्न गर्न र सडकलाई उद्देश्यअनुसार सञ्चालन गर्न निर्देशन दिएपछि रोकिएको कार्यले पुनः गति लिएको महानगरले जनाएको छ ।

निर्माणाधीन सडक सौन्दर्यकरणका क्रममा अहिले बत्ती जडान, फाउन्टेन निर्माण, टायल बिछ्याउनेलगायतका कामले तीब्रता पाइरहेको छ । जनआन्दोलन चोकबाट ट्राफिक चोक जोड्ने सो सडकलाई सौन्दर्यकरण गर्दा त्यसको संरचना बिग्रिएको र उपयोगितामा नआउने सम्भावना रहेको भन्दै स्थानीयले विरोध जनाएका छन् । 

महानगरले ठूलो सरकारी धनराशी लगानी भइसकेकाले त्यसलाई सञ्चालन गर्नुको विकल्प आफूसँग नभएको भन्दै मेयर कोइरालाले परियोजनाबाट पछाडि नफर्किने बताउनुभयो । अघिल्लो कार्यकालमा महानगर प्रमुख भीम पराजुलीले अगाडि सार्नुभएको सौन्दर्यकरण परियोजना एक करोड ८३ लाख रुपियाँ लागतमा निर्माणाधीन छ । 

वर्तमान मेयर कोइराला यसअघि परियोजनाको विपक्षमा उभिनुभएको थियो । ‘अब हामी यो रोडको डिजाइनअनुसारका सबै संरचना निर्माण गरेर चाँडै सञ्चालनमा ल्याउने तयारीमा छौं’ मेयर कोइरालाले भन्नुभयो, ‘त्यसका लागि ठेकेदारलाई चाँडो काम गर्न निर्देशन दिइसकेका छौं ।’ मेयर कोइरालाको नेतृत्वमा उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीयसहितको टोलीले नियमित अनुगमन गरी परियोजना सम्पन्न गर्न ठेकेदार कम्पनीलाई दबाद सिर्जना गरिरहेको छ । 

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले एक महिनाभित्र सबै काम नसके ठेकेदारलाई कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिनुभयो ।