• १५ मंसिर २०८१, शनिबार

चिसोबाट नागरिकलाई बचाउन रकम खर्च गर्ने अख्तियारी

blog

काठमाडौँ, पुस, ८ गते । सरकारले शीतलहर, हिमपात तथा अत्यधिक चिसोबाट नागरिकलाई बचाउन जिल्लामा रहेको विपद् व्यवस्थापन कोषबाट खर्च गर्ने गरी विभिन्न जिल्लालाई अख्तियारी दिएको छ ।

शुक्रबार गृहमन्त्री बालकृष्ण खाणद्वारा मन्त्रीस्तरीय निर्णयबाट शीतलहर, हिमपात तथा अत्यधिक चिसो हुने जिल्लालाई तीन तहमा विभाजित गरी सोही अनुरुप वितरण गर्ने अख्तियारी प्रदान गरिएको हो ।

मन्त्रिपरिषदद्वारा शीतलहर, हिमपात तथा अत्यधिक चिसोबाट हुन सक्ने जोखिम एवम् सम्भावित धनजनको क्षति न्यूनीकरणका लागि पूर्व तयारी एवम् प्रतिकार्य सम्बन्धमा भएको निर्णय कार्यान्वयन गर्न गृहमन्त्री खाणबाट यस्तो निर्णय भएको हो ।

 शीतलहर, हिमपात तथा अत्यधिक चिसो हुने जिल्लालाई तीन तहमा विभाजित गरी सोही अनुरुप वितरण गर्ने अख्तियारी प्रदान गरिएको हो ।

२० हिमाली जिल्लाहरू ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, रसुवा, धादिङ, मुस्ताङ, गोरखा, रुकुम पूर्व, हुम्ला, जुम्ला, मुगु, डाेल्पा, कालिकोट, बझाङ, बाजुरा र दार्चुलालाई चार लाखका दरले खर्च गर्ने अख्तियारी दिइएको छ । 

साथै तराईमा बढी प्रभावित हुन सक्ने जिल्लाहरू सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तुलाई १२ लाखका दरले खर्च गर्ने अख्तियारी दिइएको छ ।

त्यस्तै नवलपरासी पूर्व, दाङ, बाँके, बर्दिया र कञ्चनपुरलाई ८ लाखका दरले खर्च गर्ने अख्तियारी दिइएको छ । कोषमा रकम अपुग भएमा रकम माग गरि नेपाल सरकारको स्वीकृत मापदण्ड बमोजिम तोकिएको सीमाभित्र खर्च गर्न पनि निर्देशन दिइएको छ ।

तराईमा शीतलहर र हिमाल तथा पहाडमा अत्यधिक चिसो सुरु हुन लागेपछि सरकारले पूर्व तयारीस्वरुप यस्तो निर्णय गरेको हो ।

यसअघि २० साउनमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले ‘विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७९ स्वीकृत’ गरेको थियो । त्यसैअनुसार विभिन्न जिल्लालाई नागरिकलाई चिसोबाट बचाउन जिल्लालाई रकम खर्च गर्ने अख्तियारी दिइएको हो ।