• २३ असार २०८१, आइतबार

सहायक मार्गले मूल सडक जोखिममा

blog

कविराज घिमिरे

हिले, पुस ८ गते । कोसी राजमार्ग सडकखण्डको विभिन्न ठाउँबाट नयाँ सडक विस्तार गर्ने क्रममा  सहायक मार्गको ट्रयाक खुल्न थालेपछि राजमार्ग जीर्ण कमजोर बन्दै गएको छ। कोसी राजमार्ग भेडेटारदेखि धनकुटाको हिले र त्यसभन्दा माथि चित्रेसम्म  करिब ६५ किलो मिटरको दुरीमा राजमार्गको छेउबाट एक सयभन्दा बढी ‘ट्र्याक’ खोलिएका छन्। 

सडक ‘ट्र्याक’ खोल्दा माटोले नाली पुरिदिने र नालीमा बग्ने पानी सडक माथिबाटै बग्ग्दा राजमार्गको पिच र अन्य संरचना समेत जीर्ण बन्दै गएको छ। सडकभन्दा माथिबाट सहायक सडक खोल्दा बर्खामा पानीसहित लेदो गिटी सडकमा छिरेर भत्काउने गरेको छ। मुख्य सडकभन्दा तल सहायक सडक खोल्दा मुख्य सडक नै भत्किने गरेको छ।

राजमार्गबाट सडक ट्र्याक खोल्दा सडक डिभिजन कार्यालयसँग सम्बन्धित उपभोक्ता समिति वा निकायले स्वीकृति लिनुपर्ने हुन्छ तर अहिलेसम्म कसैले पनि स्वीकृति लिएका छैनन्। स्वीकृति नलिई सडक निर्माण गरेका सडकलाई पुगेको क्षति बराबरको क्षतिपूर्ति सम्बधित व्यक्ति वा संस्थाबाट भराउने कानुन छ। अहिलेसम्म कसैबाट क्षतिपूर्ति भराएको पाइँदैन।

राजमार्ग क्षेत्रमा पर्ने स्थानीय तहलाई यस्तो नगर्न कार्यालयले परिपत्र गरेको जनाएको छ। राजमार्गबाट ट्र्याक खोले पनि नालीमा पक्की ढलान गर्नुपर्ने प्रावधान छ। कसैले मापदण्ड पूरा गरेका छैनन्। डिभिजन सडक कार्यालय धनकुटाका प्रमुख कैलाशप्रसाद देव भन्नुहुन्छ, “हामीले त्यस्तो देखेमा वा सूचना आएमा अहिलेसम्म जरिवाना गरेका छैनौँ तर पत्र काटेर सचेत गराउने गरेको छाैँ।” सडक तथा पुलको भार क्षमताभन्दा बढी सामान बोकेर यातायातका साधनसमेत सञ्चालन हुने गरेका छन्। घडेरी खार्दा, निर्माण सामाग्री सडकमै थुपार्ने गरिएको देवको भनाइ छ। बर्खामा भत्किएको स्थानमा वर्षौसम्म सडक मर्मत नहुने समस्याले समेत सडक थप जोखिममा पर्ने गरेको छ। 

ब्रिटिस सरकारले २०३८ सालमा बनाएको कोसी राजमार्गअन्तर्गतको धरान धनकुटा सडक खण्ड बनाएको थियो। उक्त ५२ किलोमिटर सडक पहाडी क्षेत्रकै उत्कृष्ट सडक मानिन्छ। यो खण्ड अहिले जीर्ण बन्दै गएको छ।