• २३ असार २०८१, आइतबार

आत्महत्या नियन्त्रण गर्न प्रहरीको जनचेतना कार्यक्रम

blog

आत्महत्या नियन्त्रणसम्बन्धी जनचेतना फैलाउँदै प्रहरी । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस ६ गते । ताप्लेजुङमा आत्महत्याका घटना नियन्त्रणका लागि प्रहरीले जनचेतना फैलाउने कार्यलाई तीव्रता दिएको छ । पछिल्लो समय अप्रत्याशित आत्महत्याका घटना वृद्धि हुन थालेपछि त्यसबिरुद्ध जनचेतना जगाउन ताप्लेजुङ प्रहरीले अभियानलाई तीव्र बनाएको हो । 

जिल्ला प्रहरी कार्यालयले आत्महत्या नियन्त्रणको जनचेतना जिल्लाभरका आफ्ना युनिट (प्रहरी इकाई) मार्फत अभियान तीव्र बनाएको छ । समुदायका नागरिक, विद्यार्थी तथा शिक्षक र नागरिक समाजका अगुवालाई आत्महत्या रोकथामविरुद्ध जनचेतनामूलक कार्यक्रममा सहभागी गराई आत्महत्या रोकथाम तथा न्यूनीकरणका उपाय केन्द्रित अनुशिक्षण गराउँदै आएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईले जानकारी दिनुभयो । 

प्रनाउ राईका अनुसार समुदायका सदस्यको उपस्थिति र सहकार्यमा हुने यस्ता कार्यक्रमले आत्महत्या रोकथाम तथा न्यूनीकरणका सन्देश समुदायको प्रत्येक घरधुरीसम्म पुग्नेछ । गाउँमा सञ्चालन हुने विभिन्न औपचारिक कार्यक्रममा समेत मातहतका प्रहरी कार्यालयको अगुवाइमा आत्महत्या रोकथाम तथा न्यूनीकरणका उपायबारे जनचेतनामूलक सन्देश प्रवाह गराउने अभियानको रूपमा कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७९–८० मङ्सिर मसान्तसम्ममा आत्महत्याका कारण जिल्लामा २१ जनाको ज्यान गइसकेको छ । ज्यान गुमाउनेमा सबैभन्दा बढी १६ जना झुन्डिएर आत्महत्या गरेका छन् । त्यस्तै, भीरबाट र खोलामा हाम फालेर एक–एक जनाले ज्यान गुमाएका छन् । विष सेवनबाट तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ।