• १६ भदौ २०८१, आइतबार

धनकुटे नरिवल बिस्कुट पाहुनाको कोसेली बन्दै

blog

धनकुटे नरिवल बिस्कुट प्याकेजिङ गरिदै । तस्बिर : कबिराज घिमिरे

कबिराज घिमिरे

हिले, पुस ४ गते । धनकुटामा बन्ने नरिवल बिस्कुटको बारेमा थाहा पाएको जोकोही धनकुटा पुगेर फर्कँदा हातमा धनकुटे नरिवल बिस्कुट काेसेली लिएर फर्कने गरेको छन् । धनकुटा –४ निवासी स्व. विश्वेश्वरमान श्रेष्ठले उत्पादन सुरु गरेको धनकुटे नरिवल बिस्कुट धनकुटाको पहिचान बनेको छ । 

धनकुटामा मात्र नभई धनकुटाभन्दा बाहिरी जिल्लामा समेत यो बिस्कुट निकै लोकप्रिय रहेको स्थानीयको भनाइ छ । धनकुटा आउने तथा धनकुटाबाट बाहिर जाने व्यक्तिहरूले यो बिस्कुट कोसेलीको रूपमा लैजाने गरेका छन् । त्यस्तै, विदेशसम्म यो बिस्कुट कोसेलीका रूपमा पुग्ने गरेको छ ।

स्थानीयस्तरमै उत्पादित दूध, घिउ र मैदा प्रयोगबाट बन्ने बिस्कुट काँचो इँटा, माटो र चीमबाट निर्मित भट्टीमा पोलेर तयार गरिन्छ । उद्योगमा निर्मित बिस्कुटभन्दा यो बिस्कुट धेरै स्वादिलो हुने गरेको उपभोक्ताको भनाइ छ । उद्योगले नरिवल बिस्कुट, खास्ता, कुकिज, फुल केक, पिस केक, कोको बिस्कुट, स्लाइस रोटी, कुरिज, डुनट र पाउरोटीलगायत बेकरी आइटम उत्पादन गर्छन् । यस उद्योगका उत्पादन खासगरी धनकुटासहित छिमेकी जिल्लासम्म पुग्ने गरेको छ । यसको लोकप्रियता बढेसँगै धनकुटामा धेरै बिस्कुट उद्योग थपिएका छन् ।

वि.सं. २००८ मा देब्रेबासमा चिया दोकान गर्ने विश्वेश्वरमानले ग्राहकको मागका आधारमा माथिल्लो कोप्चेबाट भारतीय बिस्कुट ल्याएर बेच्ने गर्नुभएको थियो । तर दोकानमा चिया पिउन आउने केही नियमित ग्राहकको सल्लाहमा उहाँले आफै बिस्कुट बनाउने अभ्यास सुरु गर्नुभयो । अन्ततः उहाँले २०११ बाट नरिवलसहितको बिस्कुट उत्पादन सुरु गर्नुभयो ।  २०३० मा तत्कालीन जिल्ला पञ्चायत कार्यालयमा उद्योग दर्तासरि उत्पादन सुरु भयो । 

आफ्ना बुवाले सुरु गरेको पेसालाई निरन्तरता दिइरहेको उहाँका छोरा मोहनसंखर श्रेष्ठले बताउनुभयो । “बुवाले उत्पादन सुरु गरेको बिस्कुट अहिले निकै लोकप्रिय छ यो बिस्कुटको ब्राण्ड बनाउनु बुवाको ठूलो योगदान छ, म यही पेसालाई निरन्तरता दिन्छु” उहाँले भन्नुभयो ।

हाल धनकुटा नगरक्षेत्रमा मात्र १५ उद्योग दर्ता भई सञ्चालनमा छन् । जहाँ वार्षिक एक करोडभन्दा बढीको बिस्कुट उत्पादन हुँदा एक सयभन्दा बढी व्यक्तिले प्रत्यक्ष रूपमा रोजगार पाएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख ईश्वर थापाले बताउनुभयो ।