• २० असोज २०८१, आइतबार

दोलखाका किसान तोरी खेतीप्रति आकर्षित

blog

सैलुङ गाउँपालिका–५ मा गरिएको तोरी खेती । तस्बिर बाबुराम शर्मा

बाबुराम शर्मा 
दोलखा, पुस ४ गते । दोलखाको सैलुङ गाउँपालिका–५ का किसानहरू नगदे बाली तोरी खेतीप्रति आकर्षित भएका छन् । 
अन्न बालीबाट खासै आम्दानी नभएपछि परीक्षणको रूपमा गरिएको तोरी खेतीको उत्पादन राम्रै भएपछि यसप्रति किसान आकर्षित भएका किसान रत्नबहादुर तामाङले बताउनु भयो । उहाँले गत वर्ष एक पाटोमा लगाउनु भएको तोरीबाट राम्रै उत्पादन भयो । तोरी पेलेर आएको तेलले घरमा भुटुन खान र केही कोसेली दिन पुगेको उहाँले बताउनु भयो । 
उहाँले भन्नु भयो, अहिले दुई रोपनीमा तोरी खेती गरेको छु । राम्रै उत्पादन हुने देखिएको छ । यसपालि भने केही बिक्री गर्न सकिने पनि देखिएको छ । गाउँघरमा पुराना तेल पेल्ने प्रविधि हराएकाले टाढै गएर तोरी पेलेर ल्याउनुपर्ने बाध्यता थियो । अहिले भने गाउँमै मिल राखिएको छ । सजिलो भएको छ । अरू खेतीभन्दा सजिलो भएकाले तोरी खेती गर्ने सोच पलाएको छ । 
मकैपछि कोदो लगाउने गरिएको थियो । उहाँले भन्नु भयो, कोदोबाट आम्दानी हुन सकेन । मकै खेतीपछि अब कोदो नलगाएर सबै बारीमा तोरी खेती गर्ने सोच बनाएको छु । स्वास्थ्यका लागि भटमासको तेल खानुभन्दा तोरीको तेल खान विज्ञहरूले सुझाइरहेका पनि छन् । 
अर्का किसान विष्णु श्रेष्ठले पनि तोरी खेतीलाई प्रोत्साहन दिन लाग्नु भएको छ । उहाँले अहिले तीन रोपनीमा तोरी खेती गर्नु भएको छ । उहाँले भन्नु भयो, तोरी खेतीबाट शुद्ध तेल पाउनु मात्रै होइन, पिनाबाट प्राङगारिक तथा जैविक विषादी बन्ने रहेछ । यो खेती बहुउयोगी सावित हुन लागेको छ ।  
वडामा नगदेबाली तोरी खेतीको प्रचुर सम्भावना देखिएको छ । यो वर्ष करिब १५० रोपनीमा तोरी खेती गरिएको छ । यसलाई प्रोत्साहन गर्न र विस्तार गर्न आलु आर्थिक वर्षमा वडाले तीन लाख रुपियाँ बजेट विनियोजन गरेको वडाध्यक्ष दिलकुमार तामाङले बताउनु भयो । 
यो बजेट सबभन्दा बढी तोरी खेती गर्नेहरूलाई मल, बिउ विजन समेतका लागि वितरण गर्ने वडाध्यक्ष तामाङले बताउनु भयो ।