• १० मंसिर २०८१, सोमबार

सांसद शपथको तयारी : ज्येष्ठ सदस्यमा जबराको सम्भावना

blog

नागरिकता अनुसार ज्येष्ठ सदस्य पशुपति शमशेर जबरा । तस्बिर : मनोजरत्न शाही

गोरखापत्र अनलाइन

काठमाडौं, पुस ३ गते । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण मिति सोमबार तय गर्ने भएको छ । सचिवालयले ज्येष्ठ सदस्यको पहिचान गरेर सुरुमा उहाँलाई शपथ ग्रहण गराउने र त्यसपछि अन्य सदस्यको शपथ गर्नेगरी अन्तिम तयारी गरेको छ ।

सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार, निर्वाचन आयोगले निर्वाचित सांसदको विवरणमा उल्लेख गरेको मिति र नागरिकतामा रहेको मिति फरक परेकाले पत्राचार गरिएको थियो । आयोगले पुनः पठाएको विवरण आज सचिवालयले प्राप्त गरेको छ । 

सहायक प्रवक्ता धमलाले भन्नुभयो, ‘‘आयोगको विवरण आएको छ तर पनि ज्येष्ठ सदस्य को हो भन्ने स्पष्ट खुलेको छैन, आयोगको निर्वाचनसम्बन्धी एकीकृत विवरणमा रहेको जन्म मिति र नागरिकतामा रहेको मिति फरक देखिन्छ, अब सचिवालयले भोलि टुङ्गो लगाएर शपथ ग्रहण मिति तोक्ने छ ।’’

नवनिर्वाचित सांसदको नागरिकता अनुसार ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको रहेको पाइएको छ । उहाँ ८० वर्षको हुनुहुन्छ । अर्का सांसद महेन्द्र राय यादवको उमेर पनि ज्येष्ठ सदस्यका लागि दाबी गर्न मिल्ने भए पनि उहाँले यसअघि आफ्नो जन्म मितिका बारेमा फरक भनाइ राखेकाले उहाँ पर्ने सम्भावना कम छ । 



प्रतिनिधि सभा सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले निर्वाचन आयोगले निर्वाचनको अन्तिम मतपरिणाम सचिवालयलाई बुझाएको जानकारी दिँदै भन्नुभयो, “निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम परिणाम प्राप्त भयो । तर, त्यसमा उम्मेदवारको उमेर नखुलाएकाले उमेर खुलाएर पठाउन पुनः पत्राचार गरेका छौँ । त्यो प्राप्त भएपछि सबैभन्दा ज्येष्ठ सदस्यको पहिचान गर्छौँ । त्यसपछि ज्येष्ठ सदस्यको शपथ ग्रहण राष्ट्रपतिबाट हुनेछ ।” सबैभन्दा पहिले ज्येष्ठ सांसदले शपथ ग्रहण गर्नुहुने उहाँको भनाइ छ  ।