• १० मंसिर २०८१, सोमबार

बाँकेबाट १३ जना महिला सांसद

blog

बाँकेबाट समानुपातिकबाट सङ्घ र प्रदेशमा निर्वाचित हुनुभएका महिलाहरू । तस्बिर: सिराज खान

सिराज खान 

नेपालगन्ज, पुस ३ गते । बाँके जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरेर १३ जना महिलाहरू निर्वाचित हुनु भएको छ । प्रत्यक्षतर्फ प्रदेशसभामा एक जना महिला निर्वाचित हुनु भएको हो भने समानुपातिकबाट १२ जना महिलाले सङ्घीय र प्रदेश सांसद बन्ने अवसर पाउनु भएको छ । 

प्रत्यक्षतर्फ दुवै सदनका लागि जिल्लामा नौ वटा सिट रहे पनि बाँके १ (क) बाट माओवादी केन्द्रका उम्मेदवार कृष्णा केसी नमुना विजयी हुने एक मात्र महिला हुनुहुन्छ । अन्य आठ सिटमा विजयी हुने सबै पुरुष उम्मेदवार हुनुहुन्छ । माओवादीकी केसी यस पटक सोही सिटबाट दोहोरिनु भएको हो । 

प्रत्यक्षतर्फबाट एक जना मात्र महिला विजयी भएपछि समानुपातिकबाट विभिन्न दलले १२ जना महिलालाई प्रतिनिधिसभा र प्रदेशसभामा पठाएका छन् । समानुपातिकबाट तीन जना महिला प्रतिनिधिसभामा चुनिनुभएको छ भने नौ जना महिलालाई प्रदेशसभामा निर्वाचित गरिएको छ । 

समानुपातिकबाट प्रतिनिधिसभामा चुनिनु हुने उम्मेदवारमा नेपाली काँग्रेसको तर्फबाट आशा विक, नेकपा (एमाले)बाट दीपा शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट लक्ष्मी तिवारी रहनुभएको छ । यसै गरी लुम्बिनी प्रदेशसभाका लागि विभिन्न दलहरूले निर्वाचित गरेका नौ जना महिला सांसदमा नेपाली काँग्रेसबाट चार जना, एमालेबाट दुई जना, जसपा, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट एक एक जना रहनुभएको छ । 

नेपाली काँग्रेसबाट माया पुन, सन्जुकुमारी चौधरी, सुशीला वादी र मीना सिद्धिकी प्रदेशमा निर्वाचित हुनुभएको छ भने एमालेबाट वसन्ती न्यौपाने र सायरा बानोलाई पठाइएको छ । सोही प्रकारले जनता समाजवादी पार्टीबाट अम्बिका काफ्ले, राप्रपाबाट मिना श्रेष्ठ र नागरिक उन्मुक्ति पार्टीबाट नोरीकुमारी चौधरी प्रदेशसभामा निर्वाचित हुनुभएको छ । बाँके जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरेर प्रत्यक्ष तथा समानुपातिक दुवै प्रणालीबाट २१ जना सांसदहरू निर्वाचित भएर संसदमा पुग्नुभएको छ ।