• २३ वैशाख २०८१, आइतबार

राजीनामा दिने प्रशिक्षक

blog

लिस्बन (पोर्चुगल), पुस २ गते । विश्वकपमा असफल भए पनि प्रशिक्षकको राजीनामा र बर्खास्तीका घटना साधारण मानिन्छ। कतार विश्वकप फुटबलमा राजीनामा दिने प्रशिक्षकमा पोर्चुगलका फर्नान्डो सान्तोष पनि थपिनुभएको छ। उहाँले शुक्रबार आफ्नो पदबाट राजीनामा दिनुभएको हो।

आठ वर्ष पोर्चुगलको प्रशिक्षक बन्नुभएका सान्तोषले आफ्नो टिम विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएको पाँच दिनपछि राजीनामा दिनुभएको हो। ६८ वर्षीय सान्तोषको पोर्चुगल टिमसँग अझै दुई वर्षको सम्झौता बाँकी छ। पोर्चुगलको फुटबल सङ्घले सान्तोषको स्थान लिने प्रशिक्षकको खोजी सुरु गरिसकेको छ।

सान्तोषले सन् २०१६ मा पोर्चुगललाई युरोपेली च्याम्पियन बनाउनुभएको छ। पोर्चुगलको यो एक मात्र प्रमुख उपाधि हो। त्यसपछि उहाँकै प्रशिक्षकत्वमा पोर्चुगलले यूईएफए नेसन्स लिगको पहिलो संस्करणको उपाधि पनि हात पारेको थियो।

पोर्चुगल १–० ले मोरक्कोसँग पराजित भएर कतार विश्वकपबाट बिदा भएको थियो। प्रिक्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई ६–१ ले हराउने पोर्चुगललाई यस पटक उपाधिको दाबेदारमध्ये एक मानिएको थियो। यस विश्वकपमा क्रिस्टियानो रोनाल्डोलाई नकआउट चरणमा बेन्चमा राखेपछि पनि सान्तोष विवादित बन्नुभएको थियो। विश्वकपपछि टिम छाड्ने अन्य प्रशिक्षक यस प्रकार छन्।

टिटे (ब्राजिल)

टिटेका उपनामले चर्चित ब्राजिलका प्रशिक्षक एडेनर लियोनार्डो बाचीको सन्न्यास पनि अपेक्षा गरेभन्दा चाँडै आयो। विश्वकप उपाधिको प्रमुख दाबेदार मानिएको ब्राजिल क्रोएसियासँग क्वाटरफाइनलमा टाइब्रेकरमा हारेर बिदा भएपछि टिटेले टिममा रहिरहन आवश्यक ठान्नुभएन। ब्राजिल समूह चरणमा पनि क्यामरुनसँग १–० ले स्तब्ध भएको थियो। सन् २०१६ मा टिटेले ब्राजिलको प्रशिक्षकको जिम्मेवारी सम्हाल्नुभएको हो। उहाँको प्रशिक्षकत्वमा ब्राजिलले सन् २०१९ मा कोपा अमेरिकाको उपाधि जितेको थियो।

लुइस भान गाल (नेदरल्यान्ड्स)

अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा हारेर विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएपछि नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले पनि आफ्नो तेस्रो विश्वकप अन्तिम भएको भन्दै राजीनामा दिनुभयो। हुन त युरो २०२० मा नेदरल्यान्ड्सको निराशाजनक प्रदर्शनपछि पनि भान गालले पद छोड्नुभएको थियो। यसअघि नेदरल्यान्ड्सको टिममा उहाँ २००० देखि २००२ सम्म प्रशिक्षकको भूमिकामा हुनुहुन्थ्यो। सन् २०१२ मा उहाँ पुनः नेदरल्यान्ड्सको प्रशिक्षक बन्नुभयो र टिमलाई सन् २०१४ मा विश्वकपको सेमिफाइनलसम्म पु-याउनुभयो।

जेरार्ड मार्टिनो (मेक्सिको)

मेक्सिकोका प्रशिक्षक जेरार्ड टाटा मार्टिनोले आफ्नो टिमलाई समूह चरण पार गराउन नसकेपछि राजीनामा दिनुभयो। सन् १९९४ पछि मेक्सिको पहिलो पटक विश्वकपको नकआउट चरण पुग्न असफल भएपछि प्रशिक्षक मार्टिनोले नैतिक जिम्मेवारी लिएर आफ्नो सम्झौता समाप्त भएको घोषणा गर्नुभएको हो। मार्टिनो बार्सिलोना र अर्जेन्टिना टिम पनि सम्हालिसक्नुभएका प्रशिक्षक हुनुहुन्छ। यस पटक मेक्सिकोले तीन खेलमध्ये अर्जेन्टिनासँग २–० ले हार, पोल्यान्डसँग गोलरहित बराबरी र साउदी अरबसँग २–१ जितको प्रदर्शन गरेको थियो।

रोवर्टो मार्टिनेज (बेल्जियम)

फिफा वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियम समूह चरणबाट बिदा भएपछि प्रशिक्षक रोवर्टो मार्टिनेजले आफ्नो पद छोड्नुभयो। यद्यपि इभर्टनका स्पेनी प्रशिक्षक मार्टिनेजले आफूले राजीनामा दिनुभएका कारण बेल्जियम नकआउट चरणमा पुग्न नसक्नु होइन भन्नुभएको छ। मैले विश्वकप सुरु हुनुअघि नै निर्णय गरेको हुँ, उहाँको भनाइ छ। सन् २०१६ मा टिम सम्हाल्नुभएका मार्टिनेजले सन् २०१८ मा बेल्जियमले विश्वकपमा तेस्रो स्थान दिलाउनुभएको थियो। यसैगरी उहाँको प्रशिक्षकत्वमा बेल्जियमले युरो २०२० मा क्वाटरफाइनलसम्मको यात्रा गरेको थियो।

ओटो आडो (घाना)

घानाका पूर्वमिडफिल्डरसमेत रहनुभएका ओटी आडोले आफ्नो टिमले राम्रो प्रदर्शन गर्दागर्दै समूह चरण पार गर्न नसकेपछि राजीनामा दिनुभएको थियो। उहाँ गत फेब्रुअरीमा मात्र टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको हो। दक्षिण कोरियालाई हराएको घानाले पोर्चुगल र उरुग्वेसँग पराजय बेहोरेको थियो। आडो पुनः बोरुसिया डर्टमन्डका ‘ट्यालेन्ट’ प्रशिक्षकको भूमिकामा फर्किनुभएको छ। उहाँले आफ्नो खेल जीवनको धेरैजसो समय बोरुसिया डर्टमन्डमा नै बिताउनुभएको थियो।

पल बेन्टो (दक्षिण कोरिया)

पोर्चुगलका पूर्वअन्तर्राष्ट्रिय फुटबलर पल बेन्टोले ब्राजिलसँग अन्तिम १६ मा हारेपछि दक्षिण कोरियाको प्रशिक्षक पदबाट राजीनामा दिनुभयो। उहाँको कार्याकाल चार वर्ष चलेको छ। ब्राजिलले अन्तिम आठमा पूर्वाद्र्धमै चार गोल गरेर दक्षिण कोरियाको यात्रा समाप्त पा¥यो। घानाविरुद्धको खेलम प्रशिक्षक बेन्टोले रातो कार्ड पनि पाउनुभएको थियो।

लुइस इन्रिके (स्पेन)

मोरक्कोसँग प्रिक्वाटरफाइनलमा स्तब्धकारी हार बेहोरेको दुई दिनपछि स्पेनी फुटबल सङ्घले प्रशिक्षक लुइस इन्रिकेलाई लुइस डिला फुएन्टेले स्थानापन्न गर्ने जानकारी दिएको छ। यसअघि फुएन्टेले स्पेनको यू–२१ टिम हेर्नुहुन्थ्यो। बार्सिलोनाका पूर्वप्रशिक्षक इन्रिकेले गत वर्ष स्पेनलाई युरो च्याम्पियनसिपको सेमिफाइनलमा पु-याउनुभएको थियो। यसैगरी इन्रिकेकै प्रशिक्षकत्वमा स्पेनले सन् २०२१ मा नेसन्स लिगको फाइनलमा पनि खेल्यो। एजेन्सी