• १३ साउन २०८१, आइतबार

बहुमूल्य मूर्ति चोरी गर्ने सात पक्राउ

blog

सिराज खान 

नेपालगञ्ज, पुस १ गते । बाँके प्रहरीले जिल्लाको राप्तिसोनारी गाउँपालिका –२ अगैयाबाट बहुमूल्य बुद्धको मूर्ति चोरी गरेका दुई जनालाई मूर्तिसहित प्रहरीले पक्राउ गरेको छ । ती दुई जनासहित अन्य चोरीका घट्नामा संलग्न सात जनालाई पक्राउ गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा मिकलाजुङ गाउँपालिका –७ पाँचथरका ५० वर्षीय झर्मेन्द्रप्रसाद रेग्मी र भीमसेन थापा गाउँपालिका –१ गोरखाका ३२ वर्षीय देवबहादुर मग्राती छन् । 

रेग्मी र मग्रातीबाट पहेंलो धातुबाट बनेको पुरानोजस्तो देखिने गौतमबुद्धको ६ किलो चार सय २० ग्रामको मूर्ति बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले बताउनुभयो । 

उहाँका अनुसार मूर्ति र मूर्ति प्वाल पार्न प्रयोग गरिने मेसिनसहित पक्राउ परेका दुवै जनामाथि प्राचीन स्मारकसम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ । पक्राउ परेका सातैजनामाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सोही प्रकारले कोहलपुर नगरपालिकाको विभिन्न स्थानमा चोरी गरेका अन्य पाँच जनालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी प्रमुख मल्लले बताउनुभयो ।

विभिन्न समयमा कोहलपुर नगरपालिकाभित्र भएका चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको उहाँले बताउनुभयो । गत मङ्सिर २२ गते कोहलपुर –२ विकासनगरमा स्थानीयको घर फोडेर नगद, सुनचाँदीका गरगहना, ल्यापटप, मोबाइल चोरी गरी फरार रहेका कोहलपुर नगरपालिका –१ कौशिलानगर बस्ने २९ वर्षीय नवीन विक, कोहलपुर –२ विकासनगरका ध्रुवसिंह ठकुरी र दुई जना बालकलाई पक्राउ गरेको छ । 

पक्राउ परेका विकले सञ्चालन गरेको जानकी सुनचाँदी पसलबाट प्रहरीले १३ ग्राम एक सय मिलिग्राम १९ वटा चोरी भएको सुनका टुक्राहरु बरामद गरेको छ । उनकै पसलबाट ३१ तोला २८ लाल सुनचाँदीका तयारी गरगहना बरामद भएको डीएसपी मल्लले जानकारी दिनुभयो । 

पसलबाटै चाँदीजस्तो देखिने धातुहरुको पाउजु, औँठीहरु, बाला, हात्तीको पुच्छर, सिक्री र लकेटसमेत बरामद भएको छ । प्रहरीले चोरीका तीन थान मोटरसाइकल सहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कोहलपुर १२ चप्परगौडीका अम्मरबहादुर शाही छन् ।