• २० असार २०८१, बिहिबार

जनप्रतिनिधिलाई महासङ्घकाे सम्मान

blog

साधारणसभामा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस १ गते । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । शाखाले आफ्नो १० औं साधारणसभाको अवसरमा महासङ्घको साधारण सदस्य भई स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको हो । 

सदरमुकाम फुङ्लिङमा बिहीबार सम्पन्न शाखाको साधारणसभाको अवसरमा जिल्लाको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्षमा निर्वाचित शान्ताकुमारी आङ्बुहाङ लिम्बू र फुङ्लिङ नगरपालिका –२ को वडा सदस्यमा निर्वाचित लीलाचक्र गुरुङलाई सम्मान गरिएको हो । आङ्बुहाङ र गुरुङलाई साधारणसभाका प्रमुख अतिथि नवनिर्वाचित प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । 

जनप्रतिनिधि भएसँगै पत्रकारिता क्षेत्रबाट राजनीति क्षेत्रमा प्रवेश गर्नुभएकाले आङ्बुहाङ र गुरुङलाई सम्मानसँगै जिल्ला शाखाले बिदाइ गरेको छ । आङ्बुहाङ ताप्लेजुङ शाखाको सदस्यसँगै महासङ्घको केन्द्रीय सदस्य हुनुहुन्थ्यो भने गुरुङ शाखाको साधारण सदस्य रहनुभएको थियो । 

यता साधारणसभामा शाखा सचिव सुवास आचार्यले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष मदन गौतमद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सभाले दिएको सुझावअनुसार परिमार्जनसहित पारित गरिएको छ । पत्रकारको क्षमता अभिवृद्धि गर्न तालिम सञ्चालनलगायत विभिन्न क्रियाकलाप गर्ने भावी योजनासमेत साधारणसभामा निर्णय गरिएको शाखा अध्यक्ष आनन्द गौतमले जानकारी दिनुभयो ।