• ३० वैशाख २०८१, आइतबार

जहाँ पोखरी, त्यहाँ पर्यटक

blog

पाँचथरमा रहेको पोखरीमा आन्तरिक पर्यटकको घुइँचो । तस्बिर : नारायण तुम्बापो

नारायण तुम्बापो
फिदिम, पुस १ गते ।
पाँचथरमा जहाँ-जहाँ पोखरी रहेका छन् त्यहाँ पर्यटक पुग्ने गरेका छन् । जिल्लाको मुख्यगरी साधुटार, सुकेपोखरी, कालापोखरी, जोरपोखरी, लामपोखरी, तिम्बुपोखरी, गुदोला बोजोलालगायत तालमा पर्यटक धेरै पुग्ने गरेका छन् ।

कञ्चनजङ्घा, कुम्भकर्णको प्रतिछायाँ देखिने ताल साधुटार र कालापोखरीमा बढी पर्यटक झुम्मिने गरेका छन् । पाँचथर, ताप्लेजुङ र भारत सिक्किमको सीमा क्षेत्रको तिम्बुपोखरीमा धार्मिक पर्यटक आकर्षित हुने गरेका छन् ।


तिम्बु पोखरी क्षेत्र पोखरीहरुको ‘हब’ नै रहेको छ । अन्य पर्यटकीय क्षेत्रभन्दा पर्यटकको पहिलो रोजाइ पोखरी नै हुने गरेको छ । हिमपातको समयमा छुट्टै कलेवरको आकर्षणमा परिणत हुने हिमाली क्षेत्रका पोखरीमा पर्यटक उत्तिकै मरिहत्ते गर्दै पुग्ने गरेका छन् । यहाँका पोखरीहरुमा सेल्फी, टिकटक, म्युजिक भिडियो खिच्नुका साथै ठूला ब्यानरको फिल्मी गीतको समेत छायाङ्कन हुने गरेको छ ।

पोखरीको सुन्दरतामा निखारता खुलादिने हिउँदे खुला मौसमको आगमनसँगै पाँचथरका विभिन्न पोरखीमा घुमफिर गर्नेको घुइँचो लाग्ने गर्छ । यस्तो, बेला पोखरी महोत्सव नै भइरहेको भान हुन्छ ।


पानी सुक्दै गएर यहाँका प्रायः धेरै पोखरीहरुको अस्तित्व नै नामेट हुने अवस्थामा थियो । तिनै पोखरीले सरकार र स्थानीयवासीको संरक्षण पाएपछि पुनर्जीवनमा फर्किएका छन् । अहिले संरक्षित पोखरीहरु नै पर्यटकका लागि आकर्षणका केन्द्र बनेका छन् । कतिपय ओझेलमा रहेका पोखरीमा पुर्‍याइएका ‘मोटरेबल’ पहुँचमार्गले पर्यटक डोर्‍याउँदै लान थालेको अवस्था छ । विभिन्न चाड, नयाँ वर्ष, प्रेम दिवस र बिदामा वनभोज खाने गरी  पोखरीहरुमा पर्यटक आउने गरेका छन् ।


पाँचथरको पर्यटन प्रवर्द्धन तुलनात्मक हिसाबले पोखरीले नै धानेको अवस्था छ । यहाँ भइरहेको पोखरी पर्यटन विकाससँगै विभिन्न पेसा व्यवसाय प्रवर्द्धन हुँदा यसबाट कैयौं स्थानीयवासीका लागि रोजगारी मिलेको छ । पाँचथरका विभिन्न पोखरीमा मुख्य मूलबाटोको रुपमा मेचीमार्ग, तमोर कोरिडोर सडकको यात्रा गरेर पुग्न सकिन्छ ।