• १६ चैत २०८०, शुक्रबार

काठमाडौं महानगर दिवस (फोटो फिचर)

blog

महानगर दिवसको कार्यक्रम उद्घाटन गर्नुहुँदै सहरी विकासमन्त्री मेटमणि चौधरी । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, मङ्सिर २९ गते। सहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौं उपत्यका भित्र देखिएका सुकुम्वासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताउनु भएको छ। 

मन्त्री चौधरीले काठमाडौं सहरको सौन्दर्यमा प्रतिकूल असर पार्ने फोहोरमैलाको व्यवस्थापन तथा नदी किनारामा रहेका सुकुम्वासी बस्तीको व्यवस्थापन कार्य चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो। 

२८ औँ महानगर दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले काठमाडौंलाई व्यवस्थित, सफा र सुन्दर निर्माण गर्नका लागि आवश्यक पूर्वाधारको विकास गर्न ठोस कार्य सञ्चालन गर्न ढिलाइ गर्न नहुने पनि स्मरण गराउनुभयो। 


महानगरपालिकालाई बसोबासयोग्य, प्रदूषणरहित वातावरणमैत्री बनाएर महानगरवासीको आधारभूत आवश्यकता परिपूर्ति गर्न काठमाडौं महानगरपालिकाले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ। 

मन्त्री चौधरीले यस काममा नेपाल सरकारले पनि सक्दो सहयोग गरिरहेको र त्यसलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसैगरी प्राकृतिक स्रोत र साधनको अत्यधिक प्रयोगले वातावरण तथा सरसफाइमा प्रतिकूल असर परिरहेको अवस्था सिर्जना भएको छ। 

काठमाडौं उपत्यकामा देखिएको फोहोरमैलाको समस्यालाई समाधान गर्न, दिनप्रतिदिन विभिन्न नदीका किनारामा बढ्दै गएको बसोबास एवम् बसोबासीको व्यवस्थापन गर्ने कार्य चुनौती बन्दै गएको छ। 

‘‘सहरको सौन्दर्य प्रत्यक्ष असर पार्ने यस्ता समस्यालाई समयमै समाधान गर्न अति जरुरी भइसकेको छ। जसका लागि सबै पक्षको सहयोग र सहमतिको आवश्यकता पर्दछ’’, मन्त्री चौधरीले भन्नुभयो, ‘‘आगामी दिनमा यस्ता समस्या एवम् चुनौतीको सामना गर्न काठमाडौं महानगरपालिका समक्ष तथा सफल हुनेछ भन्ने विश्वास गरेको छु।’’

मन्त्री चौधरीले महानगरभित्र देखिएका फोहोरमैलालगायतका समस्या समाधान गरेरअघि बढ्न काठमाडौं महानगरपालिका सफल हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले बसोबासयोग्य सहरको रूपमा काठमाडौं महानगरपालिकालाई कायम गर्न आफ्नो मन्त्रालयले गरिरहेको सहकार्यलाई अझ बढावा दिने पनि दोहोर्‍याउनु भयो।

  




Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।