• २० असार २०८१, बिहिबार

बस्न सकेन धरान कार्यपालिका बैठक

blog

निशा राई 

धरान, मङ्सिर २९ गते । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक चार पटकमा पनि बस्न सकेको छैन । गत कात्तिक १२ गतेको कार्यपालिका बैठकमा मेयर र वडाध्यक्षबीच विवाद भएपछि कार्यपालिका बैठक स्थगित भएको थियो ।

सो कार्यपालिका बैठकमा नगर प्रमुख र वडाध्यक्षबीच सप्तरङ्गी पार्कको एजेण्डा पास गर्ने नगर्ने विषयमा विवाद भएपछि नगर प्रमुख हर्कराज राईले ‘तपाई जानुस्’ भन्ने शब्दलाई लिएर सो शब्दप्रति वडाध्यक्षको विमति भएपछि माफी माग्नुपर्ने माग राखेपछि नगर प्रमुख राईले माफी नमाग्ने अडान लिएपछि कार्यपालिका स्थगित भएको बताइएको छ । हालसम्म पनि सोही कुराको अडानमा चार पटकमा पनि कार्यपालिका बैठक बस्न सकेको छैन । 

गत कात्तिक १७ गते कार्यपालिका बैठकमा पनि नगर प्रमुख राईले माफी माग्ने विषयमा विवाद भएपछि कार्यपालिका बैठकको विषयमा प्रवेश नै नगरी स्थगित भएको थियो । त्यस्तै, तेस्रो पटक कात्तिक २४ गते कार्यपालिकाको बैठक भनिए पनि नगर प्रमुख राई र उपप्रमुख आइन्द्रविक्रम बेघाको मात्र उपस्थिति थियो । 

यसैगरी चौथो पटक बिहीबार बिहान ८ बजे बोलाइएको बैठकमा चार जना वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्थिति थियो । बैठकमा वडा नं १७ का वडाअध्यक्ष सूर्यबहादुर भट्टराई, वडा १५ का अध्यक्ष नरेश इवारम, वडा  १८ का नरेन्द्रकुमार राई, वडा ६ का भुपेन्द्र भट्टराई र कार्यपालिका सदस्य दिनेश गजमेर र वडा १४ बाट प्रतिनिधि भएर आउनुभएका झरना सुनुवारको उपस्थिति थियो ।  

कार्यपालिका सदस्यहरुको तर्फबाट वडा १७ का अध्यक्ष एवम् नगर कार्यपालिका प्रवक्ता भट्टराईले मेयर हर्क साम्पाङले कार्यपालिका सदस्यमाथि गरेको अपमानजनक शब्द फिर्ता लिएर माफी नमागेसम्म कोही पनि कार्यपालिका सदस्यहरु बैठकमा सहभागी नहुने बताउनुभयो । 

उहाँका अनुसार नगरप्रमुख राईले आफ्नो गल्ती स्वीकार गर्नेभन्दा पनि तोकआदेशको भरमा नगर चलाउँछु भन्दै कार्यपालिका सदस्यहरु धरान बिगार्न आएको भन्ने भ्रम फैलाइरहेकाले पनि बैठकमा सहभागी नहुने बताउनुभयो । 

नगर प्रमुख राईले आफूले माफी माग्नुपर्ने अपमानजनक शब्द नबोलेको भन्दै माफी नमाग्ने अडान राख्नुभएको छ । “नगरप्रमुखले भनेको नमान्ने उल्टै मेरो भन्दा पनि नगरप्रमुख पदको अपमान गरेको” नगरप्रमुख राईले भन्नुभयो ।  

उपप्रमुख अइन्द्रविक्रम बेघाले नगरप्रमुख र वडाअध्यक्षको आफ्नो जिद्दीका  कारण धरानको विकास, योजनाहरु र जनताका मुद्दाहरु ओझेल पर्ने भएकाले दुवै पक्षले समन्वय गरेर अगाडि बढ्न ढिलाइ नगर्न पनि आग्रह गर्नुभयो । 

कार्यपालिका बैठकबाट नगर सभाको मिति तोक्ने, ‘धरान डे’ तथा इष्ट टुरिजम मार्ट मनाउन, बाटोको नामकरण, ल्याब सामग्रीको दररेट, कृषि क्षेत्र कायम गर्ने, बहुसांस्कृतिक पार्क निर्माण गर्नेलगायतको विविध योजना रहेकोमा ढिलाइ हुँदा  धरानको विकासमा असर परिरहेको छ ।