गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २८ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय निजामती ऐनलाई छाता ऐन भनेर दुष्प्रचार गरिएको बताउनुभएको छ । बुधवार सङ्घीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
सङ्घीय संसद् सचिवालयका कर्मचारीले आफूलाई सङ्घीय संसद् सचिवालयमा कैद गरियो भन्नेजस्ता भ्रम प्रचार गरिरहेको भन्दै उहाँले त्यसो नगर्न आग्रह गर्नुभयो । प्रदेशमा पठाउँदा नजाने र केन्द्रमै राख्दा कैद गरियो भन्नेजस्ता प्रचारबाजी गरेर संसद्को प्रतिभामा आँच आउने काम हुन्छ उहाँले भन्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले सङ्घीय निजामती ऐनलाई छाता ऐन भनेर प्रचार गरी अघि बढ्दा सङ्घीय निजामती ऐन प्रभावकारी बन्न नसक्ने बताउनुभयो । निजामती सेवा ऐन राजनीतिक दलहरू र मन्त्रीहरूले मात्रै नरोकेको उहाँको भनाइ छ । निजामती सेवा ऐन, सेवा ऐन भित्रका विशिष्ट अधिकृतहरूका आफ्नैखालका स्वार्थका कारण निजामती सेवा ऐन रोकिएको बताउनुभयो ।
विशिष्ट अधिकृतहरूको उमेरहद बढाउने लगायतका चाहनाका कारण निजामती सेवा ऐन रोकिएको बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले सबैका लागि सेवा प्रभावकारी बनाउने कुरामा कर्मचारीहरूले ध्यान दिन जरुरी रहेको सुझाव दिनुभयो ।