• १२ असोज २०८१, शनिबार

काठमाडौं विश्वविद्यालयको २८ औँ दीक्षान्तमा १६ सय विद्यार्थी दीक्षित हुँदै

blog

धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयको प्रशासनिक भवन। फाइल तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, मङ्सिर २७ गते। काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयू) को २८ औँ दीक्षान्त समारोह (पहिलो चरण) मा एक हजार छ सय भन्दा बढी विद्यार्थी दीक्षित हुने भएका छन्। विश्वविद्यालयले मङ्गलबार पत्रकार सम्मेलन गर्दै बिहीबार हुने २८ औँ दीक्षान्त समारोहको पहिलो चरणमा एक हजार ६९९ विद्यार्थी दीक्षित हुने जानकारी दिइएको हो। 

पहिलो चरणको दीक्षान्त समारोहमा स्कुल अफ आर्ट्स, स्कुल अफ एजुकेसन, इन्जिनियरिङ, स्कुल अफ ल, स्कुल अफ म्यानेजमेन्ट, स्कुल अफ मेडिकल साइन्सेज र स्कुल अफ साइन्स विधाका आठ जना पीएचडी, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका एक हजार ६०६ जनासहित एक हजार ६९९ जना विद्यार्थी दीक्षित हुने विश्वविद्यालयका प्रवक्ता उद्धवप्रसाद लुइँटेलले जानकारी दिनुभयो।

उहाँले दीक्षित हुनेमध्ये स्कुल अफ आर्ट्सका २२० जना, एजुकेसनका २०२ जना, इन्जिनियरिङका २६ जना, स्कुल अफ लका ४० जना, स्कुल अफ म्यानेजमेन्टका ४६२ जना, मेडिकल साइन्सेजका ७१२ जना र स्कुल अफ साइन्सका ३७ जना विद्यार्थी रहेका छन्। दीक्षित हुने विद्यार्थीमध्ये ७३५ जना (४३ दशमलव २ प्रतिशत) पुरुष र ९६५ जना (५६ दशमलव ८ प्रतिशत) महिला विद्यार्थी रहेका छन्। 

प्रवक्ता लुइँटेलले दीक्षित हुने कुल विद्यार्थीमध्ये १० दशमलव ९५ प्रतिशत विदेशी विद्यार्थी रहेको बताउनुभयो। यस वर्ष अष्ट्रिलिया, क्यानडा, चीन, जर्मनी, भारत, इटाली, माल्दिभ्स, पोर्चुगल, रुस, सिङ्गापुर, स्पेन, श्रीलङ्का, ताइवान र संयुक्त राज्य अमेरिका गरेर १४ देशका १८६ जना विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन्। 

२८ औँ दीक्षान्त समारोहको पहिलो चरणमा केयूको इतिहासमा पहिलो पटक मास्टर्स अफ इन्जिनियरिङ इन सेनेटेशन टेक्नोलोजीमा छ जना र मास्टर्स अफ साइन्स इन सेनेटेशन टेक्लोजीमा एक जनालाई उपाधि प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। हालसम्म विश्वविद्यालयबाट ४० हजार ३५ जना विद्यार्थी दीक्षित भएका छन्। २८ औँ दीक्षान्त समारोहसम्म ५५ देशका ५ हजार ३९ विदेशी विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ। 

दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्षता, वरिष्ठ फिजिसियन तथा मुटु रोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलको उपस्थिति रहनेछ। 

पत्रकार सम्मेलनमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालयले समाजमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्दै आएको बताउनुभयो। उहाँले विश्वविद्यालयले पीएचडी अध्ययनका लागि छ जना विदेशी विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने बताउनुभयो। 

डा. थापाले विश्वविद्यालयले विश्वविद्यालयका कार्यक्रमलाई विकेन्द्रीकृत गर्नका लागि देशका विभिन्न जिल्लामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. अच्युत वाग्लेले विश्वविद्यालयले सञ्चालन गरेका कार्यक्रमहरूको बारेमा जानकारी दिनुभएको थियो।