• २० असार २०८१, बिहिबार

सान्थाक्रामा प्रसूति केन्द्र सञ्चालन

blog

नवनिर्मित स्वास्थ्यचौकी भवन तथा प्रसुति केन्द्रको उदघाटन गर्नुहुँदै प्रदेशमन्त्री हाङ्गाम । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर २६ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका –२ सान्थाक्रामा प्रसुति केन्द्र (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याइएको छ । सान्थाक्रा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण सम्पन्न भएसँगै प्रसुति केन्द्र सञ्चालनमा ल्याइएको हो । 

नवनिर्मित स्वास्थ्य चौकी भवन तथा प्रसुति केन्द्रको प्रदेश १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले उदघाटन गर्नुभयो । उदघाटन भएसँगै सोही भवनबाट स्वास्थ्य सेवा पनि प्रारम्भ भएको मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदीले जानकारी दिनुभयो ।

मेरिङ्देन गाउँपालिकाका अनुसार सो स्वास्थ्य चौकी भवन तथा प्रसुति केन्द्र कुल दुई करोड १२ लाख ९० हजार ९७० रुपियाँको लागतमा निर्माण भएको हो । भवन निर्माण गर्न स्थानीय बल्लुराम सिरेङचोङ्बाङ लिम्बू र आगेबहादुर सिरेङचोङ्बाङ लिम्बूले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको थियो ।

नवनिर्मित भवन उदघाटन अवसरमा जग्गादाता लिम्बूद्वयलाई मन्त्री हाङ्गामले अभिनन्दनसमेत गर्नुभयो । कार्यक्रममा मेरिङ्देन गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङ्गाम, उपाध्यक्ष दुर्गा सिरेङचोङ्बाङ, वडाध्यक्ष लगायतको सहभागिता थियो ।