• २९ वैशाख २०८२, सोमबार

प्रदेश सरकार गठनमा सकस

बहुमत जुटाउन प्रयास

blog

धीरेन्द्रप्रसाद साह

जनकपुर, मङ्सिर २६ गते । मधेश प्रदेशमा पहिलो र दोस्रो राजनीतिक दल बनेका पार्टीले आन्तरिक रूपमा सरकार गठनको गृहकार्य सुरु गरेका छन्। सरकार गठनका निम्ति कुनै पनि दललाई सामान्य बहुमत नपुग्दा सरकार गठनको गृहकार्यमा निकै सकस देखिएको छ। 

प्रदेश सभामा दलको हिसाबले नेकपा (एमाले) पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेको छ। तर, गठबन्धनको हिसाबले सत्ता गठबन्धन पहिलो र एमाले–जसपा गठबन्धनले दोस्रो स्थान प्राप्त गरेका छन्। दुवै गठबन्धनले आ–आफ्नो पक्षमा समर्थन जुटाउन गठबन्धन बाहिरका दललाई फकाउने प्रयास गरिरहेका छन्।

सङ्घीय सरकार गठनले नै प्रदेश सरकार गठनमा प्रभाव पार्ने निश्चित नै देखिएको छ। सङ्घमा समर्थन जनाएको दलको समर्थनमा प्रदेश सरकार बन्नेछ। सङ्घीय सरकार गठनको प्रारूप तयार नभएसम्म प्रदेश सरकार गठन प्रक्रिया अगाडि बढ्ने र वातावरण निर्माण गरिने कार्यमा तीव्रता आउने पनि देखिँदैन।

एमालेका मधेश प्रदेशका सहइन्चार्ज सुमनराज प्याकुरेलले प्रदेशमा एमाले पहिलो पार्टी बनेकाले एमालेकै नेतृत्वमा सरकार बनाउन अन्य दलसँग छलफल भइरहेको बताउनुभयो। तर, आफ्नो गठबन्धनसँग बहुमत नपुगेको बताउँदै सरकार बनाउने विषयमा जनता समाजवादी पार्टी, जनमतलगायत अन्य पार्टीसँग कुराकानी भइरहेको बताउनुभयो। तर, उहाँले भन्नुभयो, सङ्घमा जसरी सरकार बन्छ, त्यसरी नै प्रदेशमा सरकार बन्छन्।

त्यस्तै नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले प्रदेशमा गठबन्धन पहिलो शक्ति भएकाले गठबन्धन दलभित्रकै नेतृत्वमा सरकार बनाउन पहल भइरहेको जानकारी दिनुभयो। सरकार गठन, नेतृत्वका लागि गठबन्धन बाहिर जनमत, जसपालगायत दलसँग छलफल भइरहेको बताउँदै उहाँले भन्नुभयो, सङ्घीय सरकार गठनअनुसार नै प्रदेशमा सरकार गठन हुन्छ। 

नेपाली कांग्रेस मधेश प्रदेशका सूचना तथा सञ्चार विभाग प्रमुख नीतेशकुमार गुप्ताले गठबन्धन र गठबन्धन बाहिरका दलसँग सरकार कसरी बनाउने, कसको नेतृत्वमा बनाउने विषयमा छलफल गरी वातावरण निर्माण गर्ने कार्य जारी रहेको बताउनुभयो। 

मधेश प्रदेशमा पहिलो पार्टी बनेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) र दोस्रो बनेको नेपाली कांग्रेसले निर्वाचनताका गरेको गठबन्धनलाई जोड्दा पनि सामान्य बहुमत पुग्न सकेको छैन। निर्वाचनमा एमाले–जसपा गठबन्धन र सत्ता गठबन्धनको प्रतिस्पर्धा थियो। अब, बहुमतको सरकार बनाउन गठबन्धनभित्र र बाहिरका दलको सहयोग लिनुबाहेक विकल्प देखिएको छैन। र, अर्को विकल्प भनेको दुवै गठबन्धनको संयुक्त सरकार पनि बन्न सक्ने सम्भावना पनि छ।

यस प्रदेशमा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी कुल १०७ सभा सदस्य सिट सङ्ख्या छ। सरकार बनाउन सामान्य बहुमतका लागि कम्तीमा ५४ सिट आवश्यक पर्छ। यो सङ्ख्या पु¥याउन गठबन्धन बाहिरका दलको समर्थन अनिवार्य भएको छ। 

यता निर्वाचन आयोगले समानुपातिकतर्फका प्रदेश सभा सदस्यमा पार्टीले पाएको सङ्ख्या घोषणा गरिसकेको छ। तर, पार्टीको सिफारिसमा प्रदेश सभा सदस्यको अन्तिम नामावली घोषणा गर्न आयोगलाई एक/दुई दिन समय लाग्ने भएको छ। निर्वाचन आयोगका अनुसार मधेश प्रदेश सभामा दसवटा राजनीतिक दलको प्रतिनिधित्व कायम भएको छ। 

प्रदेश सभामा पहिलो बनेको एमालेले प्रत्यक्षमा १५ र समानुपातिकमा आठ गरी २३ सिट प्राप्त गरेको छ। दोस्रो दल बनेको कांग्रेसले प्रत्यक्षमा १३ र समानुपातिकमा सबैभन्दा बढी नौ गरी २२ सिट जितेको छ। जसपाले प्रत्यक्षमा नौ र समानुपातिकमा सात गरी १६ सिट ल्याएर तेस्रो दल बनेको छ। अघिल्लो निर्वाचनमा प्रदेशमा जसपा पहिलो दल बनेको थियो।

यसैगरी प्रत्यक्षमा छ र समानुपातिकमा सातसहित १३ जितेको जनमत पार्टी चौथो, लोकतान्त्रिक समाजवादी पार्टी प्रत्यक्षमा सात र समानुपातिकमा दुई सिट ल्याएर पाँचौँ दल भएको छ। नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्ष र समानुपातिकमा चार/चार गरी आठ सिट प्राप्त गरेको छ। नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षमा चार र समानुपातिकमा तीन सिट जितेको छ। प्रत्यक्षमा छ जना सदस्य स्वतन्त्रबाट जितेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ एक/एक सिट जितेका छन्। यी दलका कुनै पनि उम्मेदवार प्रत्यक्षतर्फमा जितेको छैन।