• १३ असोज २०८१, आइतबार

शान्ति नमूनालाई अन्तरविद्यालय क्रिकेटको उपाधि

blog

उपाधि बिजेता शान्ति नमूना मावि मणिग्राम टोली । तस्वीर : गोरखापत्र

कपिल ज्ञवाली

सिद्धार्थनगर, मंसिर २४ गते । भैरहवामा सम्पन्न स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगितको उपाधि शान्ति नमूना मावि, मणिग्रामले जितेको छ ।

शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा आयोजित फाइनलमा लुम्बिनी शिक्षा निकेतन, मायादेवीलाई १ रनले पराजित गर्दै शान्ति नमूनाले उपाधि हात पारेको हो ।

उपाधिसँगै उसले नगद ३० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । उपबिजेतामा चित्त बुझाएको लुम्बिनी शिक्षा निकेतनले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो ।

टस जितेर पहिला ब्याटिङ गरेको शान्ति नमूनाले उपाधि जित्दा उसका ब्याट्सम्यान स्वस्तिक पराजुलीले ३९ बलमा ४ चौकाको मद्दतले ३८ रनको योगदान दिनुभयो  । 

शान्तिका अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक बनाउन सकेनन् । शान्ति नमूना १ बल बाँकी छदै अलआउट हुँदा ९२ रन बनाउन सफल भएको थियो । अतिरिक्त रन २५ आएको थियो । बलिङमा लुम्बिनी शिक्षा निकेतनका अब्दुल हबिबले ३ तथा सब्रे आलम र अब्दुल नदिम शेखले समान एक–एक विकेट लिनुभयो । 

जितका लागि ९३ रनको लक्ष्य पाएको लुम्बिनी शिक्षा निकेतनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९१ रनमात्र बनाई १ रनले पराजय भोग्यो । अन्तिम बलमा जितका लागी ३ रन चाहिएकोमा १ रन मात्र बनायो ।

लुम्बिनीका लागि अमन यादवले २९ र सन्दिप लोधले २७ रन बनाउनुभयो । शान्ति नमूनाका आसुतोष पाण्डेले २ तथा रोशन खनाल, स्वस्तिक पराजुली र सागर भण्डारीले समान एक–एक विकेट लिनुभयो ।

प्रतितयोगिताम उत्कृष्ट खेलाडी हुँदै शान्ति नमूनाका स्वस्तिक पराजुलीले  ५ हजार रुपियाँ प्राप्त गर्नुभयोे । पराजुलीले नै उत्कृष्ट ब्याट्सम्यानको पुरस्कार जित्दै २ हजार ५ सय रुपियाँ पाउनुभयो । 

त्यसैगरी शान्ति नमूनाकै  आशुतोष पाण्डेले उत्कृष्ट बलरको पुरस्कार पाउनुभयो । प्रतियोगितामा काशी नोबल एकेडेमी, भैरहवा अनुशासित टिम घोषित भयो ।

बिजेता तथा उपबिजेता विद्यालयका खेलाडीलाई रुपन्देही क्षेत्र नम्बर ३ (१)का नवनिर्बाचित प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा लगायतले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा रुपन्देहीका  सामुदायिक तथा निजी गरी १३ बिद्यालयको सहभागिता थियो ।