• १३ असोज २०८१, आइतबार

रकम अभावका कारण लखन थापा रंगशाला अलपत्र

blog

रकम अभावका कारण अलपत्र परेको निर्माणधिन रंगशाला । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, मंसिर २४ गते । गुल्मीमा निर्माणाधीन लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला रकम अभावका कारण अलपत्र  परेको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नं ६ अमरपुरको बुल्म चौरमा निर्माणाधीन रङ्गशाला यसै अलपत्र परेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को २ करोड ८० लाख रुपियाँमा माटो काट्ने, पर्खाल लगाउने र दुवो रोप्ने कार्यका लागि २०७५ चैतमा  सुनकोसी अभियान जेभी काठमाडौंसंग सम्झौता भएको थियो । उक्त कार्य २०७६ साल चैतमा सम्पन्न भएपनि अन्य काम भने यसै अन्योलमै रहेको छ ।

माटो काट्ने,पर्खाल लगाउने र दुवो रोप्ने कार्य सम्पन्न भएपनि अहिले उक्त स्थान गाडी चलाउन सिक्ने ठाउँको रूपमा समेत परिणत हुन थालेको छ । रङ्गशाला नामकरण दिइएको उक्त स्थानमा अहिले खाल्डाहरू परेका छन् र पर्खाल पनि भत्किँदै गएको छ भने रोपिएको दुवोको पनि नाम निसाना नभई झार पलाएको छ । 

झण्डै १ अर्ब लागतमा  निर्माण सक्नेगरी १०५ मिटर लम्बाई र ६८ मिटर चौडाई रहेको रंगशालामा कभर्डहल र स्विमिङ पुल सहितको डिपीआर भएको थियो । रकम अभावका कारण काम अलपत्र परेको राष्ट्रिय खेलकुद परिषद् निर्माण शाखाका प्राविधिक माधव देवकोटाले जानकारी दिनुभयो ।

रकम भएमा मात्र आफूहरूले काम अगाडि बढाउने भन्दै रकम नै नभएकाले आफूहरूले केही गर्न नसक्ने उहाँको भनाई छ । यता स्थानीय ६६ वर्षीय ओमबहादुर कुमालले  रङ्गशाला बनाउने नाममा पहिले भएको चौरको नाम निसान हटाएको चौरलाई यता नउता बनाएको बताउनुभयो । 

पहिले भएको चौरमा गाई बाख्रा चराउने र रातो माटो खनेर दशैमा घरलाई लिपपोत गरी चिटिक्क बनाउने स्थान नै हराएको उहाँको गुनासो छ । उहाँले रङ्गशाला नबन्दा राज्यको लगानी बालुवामा पानी जस्तै भएको भन्दै सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

६५ वर्षीय कृष्णबहादुर कुमालले पहिले यहाँको रातो माटो खनेर मकैसरी साटेर खाएको अनुभव सुनाउँदै अव त्यी सबै कथा जस्तै भएको बताउनुभयो । उहाँले न अव रातो माटो खन्न पाइने भयो न रङ्गशाला नै बन्यो भन्दै दुखेसो पोख्नुभयो ।

सोही स्थानकी १५ वर्षीय कुसुम मुखियाले युवाहरूका लागि खेलकुद आवश्यक भएपनि रङ्गशाला निर्माणले गति लिन नसक्दा दुःख लागेको भन्दै छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । यता इस्मा गाउँपालिकाले भने आफूहरूसँग रङ्गशाला निर्माणमा कुनै समन्वय नभएको जनाएको छ ।