• १६ चैत २०८०, शुक्रबार

बन्द रहेका सहकारीद्वारा बचतकर्ताको रकम फिर्ता गरिँदै

blog

कपिलबस्तु सहकारीमा रकम निकाल्नेको भिड । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा, मङसिर २२ गते । रकम अपचलनका कारण बन्द रहेको सदरमुकाम तौलिहवास्थित रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ । अदालतको आदेशअनुसार गत साउनदेखि पुनः सञ्चालनमा आएको सहकारीले मङ्सिर १८ देखि बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको हो । 

अदालतको आदेशपछि सहकारी दुई वर्ष ५ महिना पछि पुनः सञ्चालनमा आएको थियो । अदालतको आदेशपछि विशेष साधारण सभाले राजुप्रसाद अर्यालको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति गठन गरेको थियो । समितिले सहकारीबाट ऋण लिएकामध्येबाट अहिलेसम्म २ करोड ४० लाख रुपियाँ उठाएको बताइएको छ । उठेको रकमबाट बचत कर्ताहरूको बचत फिर्ता गर्न सुरु गरिएको अध्यक्ष अर्यालले बताउनुभयो । 

बचत कर्ताको खाताको केवाइसी फारम भरेर किस्ताबन्दीमा रकम फिर्ता गरिएको हो । दैनिक ५० जनाका दरले १० लाखको हाराहारीमा रकम फिर्ता गरिएको अर्यालले बताउनुभयो ।

उहाँका अनुसार मापदण्ड बनाएर ५ हजारसम्मलाई पुरै रकम फिर्ता गर्ने गरिएको छ । यस्तै ५ देखि १० हजारसम्म २ किस्तामा, १० हजारदेखि ५० हजारसम्म ४ किस्तामा, ५० हजार देखि १ लाख सम्म, ५ किस्तामा दिने भएको छ । त्यस्तै १ लाखदेखि २ लाख रुपियाँसम्म १० किस्तामा र २ लाखभन्दा माथिकालाई २० किस्तामा रकम  फिर्ता गर्नेगरी मापदण्ड बनाएको छ । 

पहिलो चरणमा ऋणीहरूसँग साँवा र ब्याज असुल्ने प्रक्रिया थालिने अध्यक्ष अर्यालले बताउनुभयो । आनाकानी गर्नेलाई कालोसूचीमा राखेर तीन पुस्ते नाम सार्वजनिक गरी लिलामी प्रक्रियामा लग्ने उहाँको भनाइ छ ।  

आठ हजार दुई सय बचतकर्ताको झन्डै १९ करोड बचत र १० करोड बढी ऋण प्रवाह भएको अर्यालले बताउनुभयो । प्रारम्भिक अनुसन्धानका आधारमा ११ सहकारीमा ११ करोड ९९ लाख रकम अपचलन भएको छ । 

सहकारीको विभिन्न १७ वटा बैङ्कमा ५१ लाख रकम छ । चार वटा खाता बाहेकका अन्य बैङ्कमा रहेका खाताहरू बन्द गरिएका छन् । सहकारीको कागजात र विवरणमा ५ सय १४ जना ऋणीहरूसँग १० करोड हाराहारी साँवा र ब्याज रकम असुली गर्न बाँकी रहेको देखिएको प्रबन्धक माहोम्मद मुस्तफाले जानकारी दिनुभयो । 

रकम अपचलनमा ५३ जनाविरुद्ध मुद्दा चलेको थियो । जसमा ४५ जनाले सफाइ पाएका छन् । ५ जनालाई कसुरदार ठहराइएको छ । तीन जना विदेश भएकाहरूको मुद्दा भने मुल्तबीमा राखिएको छ ।