• १४ वैशाख २०८१, शुक्रबार

तमोरमा र्‍याफ्टिङ सुचारु

blog

तमोरमा र्‍याफ्टिङमा रमाइरहेका युवा । तस्बिर : नारायण तुम्बापो

नारायण तुम्बापो

फिदिम, मङ्सिर २१ गते । पाँचथर फिदिमको तमोर भ्याली ट्राभल टुर एण्ड ट्रेकिङ प्रालिले वर्षा याममा स्थगित गरेको र्‍याफ्टिङ सेवा हिउँद लागेसँगै सञ्चालनमा ल्याएको छ । मङ्सिर दोस्रो साताबाट सुचारु भएसँगै तमोरमा यस वर्षको हिउँदे र्‍याफ्टिङमा हेलिइन चाहनेको आवागमन बढ्न थालेको छ । 

बाढी पहिरोको जोखिम छल्न वर्षा याममा र्‍याफ्टिङ बन्द गरिने तमोर भ्यालीका सञ्चालक दिपेन्द्र तुम्बापोले बताउनुभयो । वर्षा याममा सुनसानजस्तै हुने तमोरको रौनकता र्‍याफ्टिङ सुचारु हुँदा बेग्लै हुनेगरेको छ । यहाँको र्‍याफ्टिङमा रमाउन विशेषगरी युवक युवती बढी आकर्षित भइरहेका छन् । 

पूर्वी पाँचथरका साथै ताप्लेजुङ, इलाम, झापा, मोरङ, तेह्रथुम, धनकुटाबासी र्‍याफ्टिङ खेल्न आउनेगरेका छन् । कर्मचारी विदाको समयलाई रोमाञ्चक पलको रुपमा बिताउन यहाँको र्‍याफ्टिङसँग भुल्नेगरेका छन् । 

विगत चार वर्षदेखि स्थानीय युवा उद्यमीको प्रवर्धनमा तमोर भ्यालीमार्फत र्‍याफ्टिङ सञ्चालनमा आएको छ । जल पर्यटन प्रवर्धनमा योगदान पुग्नेगरी सञ्चालनमा ल्याइएको र्‍याफ्टिङ व्यवसाय भनेजस्तो फस्टाउन सकेको छैन । विदेशी पर्यटक तमोरमा र्‍याफ्टिङ खेल्न आउनेगरेको व्यवसायीहरु बताउँछन् । 

धेरै आकर्षक र सुरक्षित रहेको अध्ययनले देखाएपछि तमोरमा र्‍याफ्टिङ सञ्चालनका लागि सरकारले अनुमति खुला गरेको छ । यसबाट धेरै लाभ लिन सकिने सम्भावना रहे पनि प्रवर्धनमा भने सरकारले चासो नदिएको तमोर भ्यालीका दिपेन्द्र तुम्बापोले गुनासो गर्नुभयो ।

तमोर भ्यालीले काठमाडौंको रिभर एडभेन्चर ट्रेल्स र इन्स्ट्रन र्‍याफ्टिङ नेपालसँगको सहकार्यमा र्‍याफ्टिङ सेवा दिइरहेको छ । तमोर क्षेत्रको माझिटारस्थित रहेको तमोर रिसोर्टले स्थानीय प्रवर्तकको रुपमा र्‍याफ्टिङ प्रवर्धनमा सहयोग गरिरहेको छ । 

कोरोना प्रकोपका कारण दुई वर्षसम्म बन्द गर्नुपर्दा र्‍याफ्टिङ व्यवसायबाट घाटा खेप्नुपरेको व्यवसायीको भनाइ छ । तेह्रथुम पाँचथर सीमा पिनासी घाटदेखि सुनसरीको चतारासम्म र्‍याफ्टिङ गराइने तमोर रिसोर्टका प्रोपाइटर बरुण तुम्बापोले बताउनुभयो । मागमा आधारित भएर छोटो दूरीको पिनासी–माझीटार र माझिटार–साँवासेरासम्मका लागि पनि सेवा दिइने उहाँले बताउनुभयो ।

र्‍याफ्टिङ खेलेबापत चार हजारदेखि दश हजार रुपियाँसम्म शुल्क लिइनेगरेको छ । र्‍याफ्टिङ सेवाका लागि तमोर भ्यालीले आठ–आठ जना खेलाडी अट्ने दुई वटा नाउ सञ्चालनमा ल्याएको छ । तमोर भ्यालीद्वारा सञ्चालित र्‍याफ्टिङ सेवा मेचीमार्ग र तमोर कोरीडोर सडकको यात्रा गरेर फिदिम पुगेपछि लिन सकिन्छ ।