• १५ वैशाख २०८१, शनिबार

वाचा पूरा गराउन जनमत सरकारमा जान्छ : सिंह

blog

मधेश प्रदेश सभा सदस्य सतिशकुमार सिंह । तस्बिर : गोरखापत्र

धीरेन्द्रप्रसाद साह

जनकपुर, मंसिर २० गते । नवनिर्वाचित मधेश प्रदेश सभा सदस्य सतिशकुमार सिंहले मतदाता समक्ष गरेको प्रतिबद्धता पूरा गराउन सरकारमा सहभागीका लागि कुराकानी अगाडि बढेको बताउनुभएको छ । 

जनमत पार्टीको नीति निर्देशन, सुझाव र सल्लाहलाई आत्मसात गरेर सरकारमा सहभागी जनाउने संकेत पाइरहेको उहाँले बताउनुभयो । संघ र प्रदेश सरकारमा सहभागी जनाउन सत्ता गठबन्धन नेतृत्व दलसँग कुराकानी अगाडि बढेको उहाँले बताउनुभयो । सप्तरी निर्वाचन क्षेत्र नं. २ (क) जनमत पार्टीबाट निर्वाचित सिंहले सो कुरा बताउनुभएको हो । 

उहाँले निर्वाचनताका रोजगारीको अवसर सिर्जना गरी बेरोजगारी समस्या समाधान गरिने, किसानलाई सर्वसुलभ मलखाद्य, विउविजन, सिंचाइ सुविधा उपलब्ध गराउने प्रमुख एजेन्डा अगाडि बढाएको बताउनुभयो ।

सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनुको साथै गरिव, विपन्न परिवारलाई पहिलो प्राथमिकतामा राखेर शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र भौतिक पूर्वाधार निर्माणमा अग्रसर रहने समेत मतदाता समक्ष प्रतिबद्धता व्यक्त गरेको उहाँले बताउनुभयो ।

संघ र प्रदेश दुबै सरकारमा हामी सहभागी हुन्छौ, उहाँले भन्नुभयो, किनभने हामी मतदाताबीच गरेको वाचा सरकारमा गएर मात्र पूरा गर्न सक्छौ । सत्ताको लागि मात्र सरकारमा हामी जाने छैनौ, उहाँले थप्नुभयो, हाम्रो बटम लाइन नागरिकता र किसान आन्दोलनका मागहरू सरकारले समेटनुपर्छ ।

विद्यार्थी जीवनदेखि राजनीतिक गतिविधिमा सक्रिय भइ लाग्नुभएको सिंह स्थानीय निर्वाचन २०७४ मा तत्कालीन राजपाबाट सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा निर्वाचित भइ सफलतापूर्वक कार्यकाल पूरा गर्नुभएको थियो । 

पछिल्लो स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा चुनावमा उठ्दा पराजित हुनु भएको थियो । त्यसपछि प्रदेश सभा सदस्य निर्वाचनको केही महिनाअघि जनमत पार्टीमा प्रवेश गरेर सोही पार्टीबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुन भएको छ । 

जिम्मेवारीपूर्वक गाउँपालिकाको नेतृत्व सम्हालेको अनुभवी सिंह सालिन, भद्र स्वभावको रुपमा परिचित एवं लोकप्रिय हुनुहुन्छ । मधेश आन्दोलन तथा अधिकारका आन्दोलनमा अग्रनी भूमिका निर्वाह गरिसक्नु भएको उहाँ प्रदेश सरकारमा जिम्मेवारी भूमिकामा सहभागी हुन दाबी गरिरहनु भएको छ ।