• १३ साउन २०८१, आइतबार

हातहतियारसहित एक पक्राउ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर १७ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ बस्ने हंसराज लिम्बुका छोरा नवीनकुमार नाल्बोलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । आफ्नै भाइ शुक्रराज नाल्बो लिम्बुको भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या प्रयासको आरोप लागेको नाल्बोलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

निजलाई पक्राउ गरी अपराधसँग सम्बन्धित प्रमाण संकलन गर्नेक्रममा उनको घरमा खानतलासी गर्दा भरुवा बन्दुक नाल एक थान, बारुदको कालो धुलो पदार्थ प्लाष्टिकको पोका एक थान, सेतो बट्टामा बारुद भरेको एक थान, भरुवा बन्दुकमा लोड गर्न प्रयोग गर्ने गोली ६ ओटा बरामद भएको प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय बुचाले बताउनुभयो । उहाँका अनुसार नाल्बोको घरबाट फलाम काट्न प्रयोग गर्ने औजार एक थान, दापसहितको खुकुरी एक थान, भरुवा बन्दुकको बटजस्तो देखिने काठको बस्तु एक थान, रडको टुक्रा दुई थान बरामद गरिएको छ ।

उनीमाथि अवैध हातहतियार प्रयोगको कारण फौजदारी मुद्दा अन्तर्गत कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दा चलाउने प्रहरीले जनाएको छ । इन्स्पेक्टर बुचाले आफू नेतृत्वको टोलीले नाल्बोलाई पक्राउ गरेको बताउनुभयो ।