• १३ साउन २०८१, आइतबार

कुटपिटमा संलग्न दुई जना पक्राउ

blog

सचिन पोख्रेल

इटहरी, मङ्सिर १७ गते । महिला समूहको कुटपिटका कारण धरान उपमहानगरपालिका वडा नम्बर १३ की उषा राईको मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लागेका थप दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानको टोलीले उषामाथि कुटपिटमा संलग्न रहेको आरोपीमध्येका स्थानीय सुसेली राई र सुमित्रा राईलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बुद्ध श्रेष्ठले जानकारी दिनुभयो ।

उषा राईको कुटपिटमा संलग्न रहेको आरोपमा दर्ता गरिएको किटानी जाहेरीमा उल्लेख गरिएको सात जना आरोपीमध्ये मुख्य आरोपी भनिएकी उर्मिला राईलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । घटनामा संलग्न अन्य आरोपी महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

यस घटनालाई लिएर शुक्रबार दिनभर मृतकका आफन्तसहित सर्वसाधारणको समूहले इप्रका अगाडि प्रदर्शन गरेको थिए । प्रदर्शनको क्रममा दोषीलाई पक्राउ नगरेसम्म मृतकको पोस्टमार्टम गर्न नदिने भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृह, इप्रका र मुख्य आरोपी भनिएकी उर्मिला राईको घर घेराउ गरिएको थियो ।

गत कात्तिक ३ गते जनजागृति महिला समूहमा आबद्ध महिला समूहले उषा राईलाई सामूहिक रूपमा कुटपिट गरेको र उहाँको उपचारको क्रममा मङ्सिर १३ गते मृत्यु भएको थियो । सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताउनुभयो । 

यस क्रममा तीन जना आरोपी पक्राउ पर्नुका साथै अन्यको खोजी भइरहेको उहाँको भनाइ छ । घटना अनुसन्धानको क्रममा मृतकको पोष्टमार्टम तत्काल गर्न आवश्यक रहेकोमा प्रदर्शनकारीहरूले अवरोध गर्दा अनुसन्धानमा समस्या आउनेसमेत बताउनुभयो । प्रहरी उपरीक्षक ढकालले मृतकको पोष्टमार्टम गरी अनुसन्धान पक्रियामा साथ दिन सबैसँग आग्रह गर्नुभयो ।