• १२ साउन २०८१, शनिबार

कृषकलाई प्रतिलिटर २ रुपियाँ प्रोत्साहन अनुदान

blog

फाइल तस्बिर

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर १६ गते । झापाको कचनकवल गाउँपालिकाले दुग्ध उत्पादक किसानलाई प्रोत्साहनका लागि प्रतिलिटर २ रुपियाँ प्रोत्साहन अनुदान दिने निर्णय गरेको छ । उत्पादनमा आधारित रहेर स्थानीय सरकारले किसानलाई अनुदान दिने भएको हो ।

गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईका अनुसार गाउँपालिकामा सूचीकृत सहकारी संस्था तथा सामुदायिक रूपमा सञ्चालनमा आएका दुग्ध सङ्कलन तथा चिस्यान केन्द्रमा लगेर किसानले बिक्री गरेको दूधको परिमाणका आधारमा प्रतिलिटर २ रुपियाँ किसानले अनुदान पाउनेछन् । 

त्यसका लागि त्यस्ता दूध सङ्कलन तथा चिस्यान केन्द्रलाई गाउँपालिकामा सूचीकृतका लागि आह्वान गरिसकिएको उहाँले जानकारी दिनुभयो । कम्तीमा पनि ५ लाख लिटर दूधमा उत्पादन आधारमा प्रतिलिटर २ रुपियाँ प्रोत्साहन अनुदान उपलब्ध गराउन १० लाख रुपियाँ बजेट गाउँपालिकाले छुट्टाएको भट्टराईको भनाइ छ ।

क्षेत्रफलमा आधारित अनुदान

यसैगरी तेलहन, दलन र सुटुनीमा क्षेत्रफलको आधारमा प्रोत्साहन अनुदान गाउँपालिकाले उपलब्ध गराउने पनि जनाइएको छ । तेलहन, दलन र सुटुनीमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने प्रयास गरिएको छ ।

कृषक, कृषक समूह, कृषि फर्म, कृषि सहकारी, जल उपभोक्ता, निजी उद्यमी व्यवसायीलाई लक्षित गरेर अनुदानमा आधारित अनुदान उपलब्ध गराउने कार्यविधिमा रहेर क्षेत्रफलको आधारमा प्रोत्साहन गरिने उपाध्यक्ष भट्टराईले बताउनुभयो । 

भट्टराईका अनुसार पाँच कट्टासम्म तोरी, मुसुरो र सुटुनी लगाउँदा किसानहरूले प्रतिकट्टा चार सय रुपियाँ पाउने छन् । अधिकतम सीमा ६ हजारसम्म राखिएको पनि उहाँले बताउनुभयो । ६ कट्ठादेखि माथि यसको खेती गर्नेले प्रतिकट्टा तीन सय रुपियाँ उपलब्ध गराइने निर्णय भएको पनि उहाँले बताउनुभयो ।