• १६ चैत २०८०, शुक्रबार

पशुपतिनगरमा भारतीय सवारीलाई सुविधा पास

blog

प्रेम अधिकारी

पशुपतिनगर (इलाम), मंसिर १६ गते । इलामको सूर्योदय नगरपालिकाको पशुपतिनगरमा निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई निःशुल्क सुविधा पास उपलब्ध हुने भएको छ । आउँदो आइतबारदेखि नाकाबाट प्रवेश गर्ने भारतीय जिप, कार र मोटरसाइकललाई ‘सुविधा पास’ दिइने भएको हो ।

पशुपतिनगरमा इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना, सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईसहित जिल्लाका सुरक्षा  प्रमुख र सरोकारवालाको संयुक्त बैठकले सुविधा पास उपलब्ध गराउने निर्णय गरेको छ । 

विश्वभरि फैलिएको कोभिड सङ्क्रमणपछि गरिएको बन्दाबन्दी यता भारतीय सवारी साधनलाई सो सुविधा दिइएको थिएन । बिहान ८ देखि बेलुका ५ बजेसम्म चल्नेगरी भारतीय गाडीले आवतजावत गर्न पाउने छन् । सो सुविधा पास पाउन भारतीय सवारी साधनले कुनै शुल्क बुझाउनु नपर्ने प्रजिअ ढुङ्गानाले जानकारी दिनुभयाे ।

सुविधा पाउने गाडीले दिनभरी पशुपतिनगर बसपार्कसम्म आवतजावत गर्न पाउने छन् । कोभिडका कारण पशुपतिनगर बजार सुनसान भए यता अहिलेसम्म बजारले गति लिन सकेको छैन । केही व्यापारी यसअघि नै विस्थापित भइसकेका छन् । पशुपतिनगरमा बङ्गाली पर्यटकको भिड लाग्ने भए पनि सवारीको असुविधा लगायतका कारण बङ्गाली पर्यटक आउने क्रम घटेको थियो । सवारी खुल्ला भएपछि बङ्गाली पर्यटक बढ्ने अपेक्षा गरिएको नगर प्रमुख राईले विश्वास व्यक्त गर्नुभयो ।