• २१ माघ २०७९, शनिबार

पुर्ख्यौली नाच जोगाउँदै काफलडाँडाका मगर समुदाय (फोटो फिचर)

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, मङ्सिर १६ गते । पहाडको टुप्पो अनि आँखै अगाडि लहरै देखिने चाँदीजस्ता टल्किने हिमशृङ्खला । मङ्सिर दोस्रो हप्ताको पारिलो घामले मौसम घमाइलो । यो स्थानलाई स्थानीयले काफलडाँडाको नामले चिन्छन् ।   

सायद, काफल पाइने भएकाले यसको नाम काफलडाँडा राखिएको हुनुपर्छ । माथि डाँडामा पुगेपछि पुन समुदायको करबाकेली थान छ । धवलागिरि हिमाल, माछापुच्छ्रे लगायतका हिमालहरू आँखै अगाडि छन् । तल शान्त रूपमा कालिगण्डकी नदी बगेको छ । काली नदीको तिरदेखि चार घण्टाको उकाली चढाइको थकाइ मेटाउने रमाइलो स्थान । 


डाँडामा पुगेको केहीबेरमा एक हुल मान्छेहरू नाच्दै, गाउँदै बजाउँदै निस्किए । एकैछिनमा काफलडाँडा सङ्गीतमय भयो । मौलिक परम्परागत पोसाकमा सजिएका उनीहरू मादल बजाउँदै गाउँदै र नाच्दै निस्किए । एकैछिनमा डाँडापाखा पुर्ख्यौली नाच र गीतले गुन्जिन थाल्यो । करबाकेलीमा भेला भएका पुन समुदायका पाका र तन्नेरी पुस्ताहरू सँगै गाउन र नाच्न थाले ।  

मगर र पुन समुदाय परम्परागत पुर्ख्यौली नाच संरक्षणमा जुटेका छन् । मगर समुदायको सांस्कृतिक पहिचान मानिने पुर्ख्यौलीको अस्तित्व बचाउन बुढापाकादेखि युवापुस्ताले समेत सक्रियता देखाएको छ । पुन समुदायको कुलदेवता करबाकेली बाबाको पूजा गर्न भेला भएकाहरूले दुई दिनसम्म पुर्ख्यौली नृत्य देखाए । 


राम्चे, हिस्तान, शिख, घार, दोबालगायत बस्तीबाट भेला भएका पुन समुदायका अगुवाहरुले  परम्परागत पुर्ख्यौली नृत्यलाई लोप हुन नदिन र नयाँ पुस्तामा कला हस्तान्तरणका लागि पुर्ख्यौली नाच प्रदर्शन गरेका थिए । 

आधुनिक संस्कृतिको प्रभावका कारण कतिपय नेपाली मौलिक संस्कृति अतिक्रमणमा परेर लोप हुन लागेको अवस्थामा संयौ वर्ष पुरानो पुर्ख्यौली नृत्यको संरक्षणमा युवापुस्ता पनि लागेका छन् । पाका पुस्ताको देनले पुर्ख्यौली नृत्य जीवित छ । 


मगर समुदायमा जन्म, मृत्यु, विवाह, छेवार र गाउँमा हुने बिशेष सभा समारोहमा परिवेसअनुसार पुर्ख्यौली नाच देखाउने चलन छ । चलन हराउन नदिन बुढापाकाले नयाँ पुस्ताका युवा र बालकलाई पुर्ख्यौली नाचगान गर्न सिकाउन थालेको अन्नपूर्ण गाउँपालिका ५ पाउँद्वारका राजु क्या. पुनले बताउनुभयो । 

लामो भाका र स्वर निकालेर गाइने गीतको भावमा डुवेर भांग्रा, कछाड, टोपीको पहिरनमा मादल भिरेर नाचेको दृष्य निकै रोचक लाग्छ । अझ मादलेसँगै जोडी भएर महिलाको भेषमा नाच्ने पुरुषहरुले पुर्ख्यौली नाचमा रौनकता थप्छन् । पुर्ख्यौली नाचमा सोरठी भाकामा गीत गाउनेको एक समूह हुन्छ । मादल भिरेर नाच्नेलाई मादले र महिलाको भेषमा नाच्नेलाई मारुनी भनिन्छ । 


यस्ता रोचक पक्ष र विशेषता भएको पुर्ख्यौली नृत्य र परम्पराबारे युवा र बालकलाई पनि सचेत गराउने भावनाको विकास भएको राम्चेका रबी पुनले बताउनुभयो । पुर्ख्यौली संरक्षणका लागि नयाँ पुस्ता पनि अग्रसर भएको उहाँको भनाइ छ । गाउँमा आउने पाहुनाको स्वागतका लागि पनि मगर समुदायले पुर्ख्यौली नृत्य देखाउने गर्छन् ।