• १८ असार २०८१, मङ्गलबार

नेपाली प्रेसका विषयवस्तु लैङ्गिकमैत्री बनाउन सुझाव

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर १४ गते । नेपाली मिडियाका विषयवस्तु (कन्टेन्ट्स) मा अझै लैङ्गिकमैत्री हुन नसकेको सरोकारवाला संस्थाका प्रतिनिधिहरुले बताउनुभएको छ । तुलनात्मक सुधार आए पनि अझै त्यसमा सुधार हुन समय लाग्ने उहाँहरुको भनाइ छ ।

प्रेस काउन्सिल नेपालको आयोजनामा बुधबार यहाँ आयोजित ‘लैङ्गिक संवेदनशीलता विषयमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो कुरा बताउनुभएको हो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले लैङ्गिक विषय साझा मुद्दा भएकाले सबै पक्षबीच सहकार्य गरेर सम्बोधन गर्न सकिने बताउनुभयो । मिडियाको काम समाजसँग सम्बन्धित विषयलाई सामान्यीकरण गर्नु र नागरिकलाई सचेत गराउने भएकाले लैङ्गिक विषय सम्बोधनमा पनि भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अझै नेपाली मिडियाका विषयवस्तु लैङ्गिकमैत्री हुन नसकेकाले मिडिया मालिक, सम्पादक तथा पत्रकारसँग सहकार्य, समन्वय र छलफलको खाँचो रहेको बताउनुभयो । सबै क्षेत्रमा महिलाको सहभागिता सुनिश्चित गराउँदै क्षमता अभिवृद्धि गर्न सकेमा लैङ्गिक सवाल सम्बोधन हुने उहाँले चर्चा गर्नुभयो ।

कार्यक्रममा नितु पण्डित, कृष्णा पौडेल, डा. समीक्षा कोइराला, राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राई, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य दीपक पाण्डे, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुषाल लगायतले लैङ्गिकमैत्री मिडिया निर्माणमा नीतिगत तथा व्यावहारिक कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।