• २८ वैशाख २०८१, शुक्रबार

मेलम्चीको पानी एक सातामा सुन्दरीजल आउने

blog

काठमाडौँ, मङ्सिर १३ गते । मेलम्ची नदीको पानी काठमाडौँ उपत्यकामा तेस्रो पटक ल्याउन मुहानबाट आयोजनाको सुरुङमा पठाइएको छ । बाढीपहिरोको जोखिम हुनसक्ने भन्दै गत असार १७ गतेदेखि सुरुङको ढोका बन्द गरिएको थियो ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाउन सुरु गरिएको जानकारी दिनुभयो । करिब पाँच महिनापछि मुहानबाट सुरुङमा पानी पठाइएको हो । अस्थायी रूपमा मेलम्ची नदीको पानी पुनः काठमाडौँ पथान्तरण गर्न थालिएको हो । अम्बाथानदेखि सुन्दरीजलसम्म सुरुङको लम्बाइ २६ किलोमिटर छ ।

“हेडवक्र्सबाट पानी पठाउन सुरु गरिएको एक हप्ताभित्रमा अम्बाथानदेखि सुन्दरीजलसम्मको सुरुङ पूर्ण रूपमा भरिन्छ । सुरुङ भरिएपछि सुन्दरीजलबाट काठमाडौँ उपत्यकामा वितरणको लागि आयोजनाको थोक वितरण प्रणालीमा करिब १७ करोड लिटर पानी पठाइने छ”, उहाँले भन्नुभयो ।  

“काठमाडौँ उपत्यकामा पानी वितरणका लागि आयोजनाको वितरण प्रणाली तयारी अवस्थामा रहेको बताउँदै प्रवक्ता पन्तले मङ्सिरभित्र मेलम्चीको पानी पुनः काठमाडौँमा वितरण गरिने जानकारी दिनुभयो । उहाँले यस वर्षको बाढीपहिरोले बगाएका सडक तथा पुल अस्थायी रूपमा निर्माण भइसकेको बताउनुभयो । 

आयोजनाका प्रवक्ता पन्तकाअनुसार बाढीपहिरोले थुपारेका ढुङ्गा र माटो पन्छाउने काम सुरु भएको छ । “मेलम्चीको हेडवक्र्ससम्म पुग्ने अस्थायी बाटो निर्माण भइसकेको छ । आयोजनाका प्रमुख तथा प्राविधिकले मुहानस्थलमा पुगेर क्षतिबारे अध्ययन गरिरहनुभएको छ”, उहाँले भन्नुभयो । 

आयोजनाको सुरुङको सफाइ तथा मर्मत कार्य सुरु भइसकेको उहाँले जानकारी दिनुभयो । मुहान स्थलमा आवश्यक मात्रामा जनशक्ति, एक्साभेटर, टिपरलगायतका उपकरण उपलब्ध गराइएको छ । यस वर्षको वर्षा सुरु भएसँगै बन्द गरिएको मेलम्चीको मुहानमा माटो र ढुङ्गा पन्छाउन अहिले छवटा एक्साभेटर र छवटा टिपर प्रयोग भएको आयोजनाले जनाएको छ ।  यस वर्षको बाढीपहिरोले विगत जस्तो ठूला/ठूला ढुङ्गा तथा धेरै मात्रामा बालुवा र माटो नथुपारेकाले माटो र ढुङ्गा पन्छाउन धेरै समय नलाग्ने प्रवक्ता पन्तको भनाइ छ । 

गेट नम्बर १ मा समेत फलामको पाता राखिएकाले यस वर्षको बाढीपहिरोले क्षति पु¥याउन नसकेको उहाँको भनाइ छ । वर्षायाममा बाढीपहिरो आउन सक्ने र मुहान तथा सुरुङमा क्षति पुग्ने भएकाले पानी पथान्तरण गर्ने सुरुङका ढोका बन्द गरिएको थियो । गत वर्ष असार १ र साउन १७ गते पहिरोसँगै आएको बाढीले मेलम्चीको मुहान क्षेत्र र सुरुङ मार्गमा ठूलो क्षति पु¥याएको थियो ।

२०७७ चैतमा मेलम्चीको पानी अस्थायी रूपमा राजधानी आइपुगेको थियो । मेलम्ची खोलामा आएको बाढीपहिरोले मेलम्चीका संरचना एवं प्रवेश मार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रो पटक मेलम्चीको पानी राजधानी आएको थियो ।