• ४ जेठ २०८१, शुक्रबार

हुम्लाको ३४ मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ल्याइँदै

blog

हुम्ला, मङ्सिर ६ गते । दक्षिणी क्षेत्रका चार वटा गाउँपालिका अन्तर्गतको ३४ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइँने भएको छ । दुर्गम क्षेत्रको मतदान केन्द्रबाट पैदल मार्गबाट ढुवानी गरेर ल्याउँन जोखिम देखिएपछि निर्वाचन आयोगले हेलिकोप्टरमै ढुवानी गर्न सहमति दिएपछि मङ्गलबार दिउँसो सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डबाट ल्याउन लागिएको हो । 

प्रमुख जिल्ला अधिकारी सीता परियारले आउन बाँकी चार वटा गाउँपालिकाका ३४ वटा मतदान केन्द्रका १३६ मतपेटिका पनि हेलिकोप्टरमै ढुवानी गरेर ल्याउँन लागिएको बताउनुभयो । लामो प्रयासपछि आयोगले हेलिकोप्टरमा ती मतपेटिका हेलिकोप्टरमा ढुवानी गर्न सहमति दिएपछि त्यो सम्भव भएको उहाँले बताउनुभयो । 

हेलिकोप्टरले सर्केगार्डबाट सिमकोटका लागि दुई उडान भरेर मतपेटिका ढुवानी गर्नेछ । मतदान कार्य सम्पन्न भएको दुई दिन बित्न लाग्दा  पनि आधा भन्दा बढी मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आई पुगेका छैनन् । टाढाका मतदान केन्द्रबाट मतपेटिका सर्केगार्डमा जम्मा गरिएको भएपनि त्यताबाट ल्याइएको छैन । 

सर्केगार्डबाट सदरमुकाम सिमकोट पुग्न डेढ दिन पैदल लाग्ने गर्छ । सर्केगार्डमा जम्मा गरिएका मतपेटिका पैदल मार्गबाट ल्याउँदा जोखिम हुने देखिएपछि निर्वाचन आयोगसँग हेलिकोप्टरमा ढुवानीको लागि कुरा भएको हो । हाल सर्केगार्डमा रहेका मतपेटिकाहरूमा ताँजाकोटका सात मतदान केन्द्रका मतपेटिका, अदानचुलीका आठ, चङ्खेलीका आठ र सर्केगार्डका बाह्र वटा मतदान केन्द्रका रहेका छन् । 

यसअघि नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन वटा मतदान केन्द्रका मतपेटिका भने सोमबारै हेलिकोप्टरमा ढुवानी गरिएको थियो ।  मतगणनास्थल तयार भएपनि बुुधबारबाट मात्र मतगणना हुनु सक्ने देखिएको छ । हाल मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तीन वटा गाउँपालिकाका २५ वटा मतदान केन्द्रका एक सय मतपेटिका मात्र आई पुगेका छन् । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।