• ११ मंसिर २०८१, मङ्गलबार

सुनसरी र मोरङमा सर्वदलीय बैठक बस्दै, सहमति जुटाएर तत्काल गणना सुरु हुने

blog

तस्बिरः दुहबी रंगशालामा सुनसरी क्षेत्र नं. ३ को मतगणनाका लागि भण्डारण गरिएको मतपेटिका । तस्बिरः गोरखापत्र

इटहरी, मङ्सिर ५ गते । सुनसरीका चार निर्वाचन क्षेत्रमा अहिले बिहान ८ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले राति अबेरसम्म मतपेटिका सङ्कलन कार्य भएकोले  अहिले बिहान सर्वदलीय बैठकमा सहमति गरेर मतगणना सुरु गरिने बताउनु भयो । 

मतगणनाका लागि सुनसरी क्षेत्र नम्बर १ को धरान सभागृह,क्षेत्र नम्बर २ को शिक्षा तालिम केन्द्र इनरुवा, क्षेत्र नम्बर ३ को दुहबी रङ्गशाला र क्षेत्र नम्बर ४ को इनरुवास्थित भगवती माविमा तयारी पूरा गरिएको छ । 

५ लाख ४४ हजार ९४१ मतदाता रहेको सुनसरीमा ६४ प्रतिशत अर्थात् ३ लाख ४६ हजार मत खसेको छ । यसैबीच, मोरङ जिल्लाको छ वटा निर्वाचन क्षेत्रको मतगणना पनि अहिले सर्वदलीय बैठक सम्पन्न गरी सुरु हुदैछ । 

राती सम्ममा मतपेटिका मतगणना स्थलमा ल्याई पुर्‍याइएको छ । बिहान आठ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेमन काश्यप अधिकारीले जानकारी दिनुभयो । मोरङ जिल्लामा रहेको छ वटा निर्वाचन क्षेत्रको मतगणना  चार ठाउँमा गर्ने तयारी छ।

निर्वाचन क्षेत्र नं. ४, ५ र ६ को विराटनगरस्थित आदर्श माविमा गणना हुने छ । क्षेत्र नं. १ को उर्लाबारी नगरपालिका, क्षेत्र नं. २ को रतुवामाई नगरपालिकामा रहेको विश्वनाथ मन्दिर र क्षेत्र नं. ३ को बेलबारी नगरपालिका ३ मा रहेको भगवती माविमा गणना हुने छ ।

Author

सचिन पोख्रेल