• २७ वैशाख २०८१, बिहिबार

मतदान स्थल निर्माण धमाधम

blog

काठमाडौँ, मङ्सिर ३ गते । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मुलुकभरि नै मतदान स्थल निर्माण सुरु भएको छ । निर्वाचन आयोगका अनुसार मुलुकभरि १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र निर्माण भइरहेका छन् भने मतदान स्थलमा मतदान अधिकृत, सुरक्षाकर्मीलगायतका कर्मचारी पुगिसकेका छन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले मतदान केन्द्रमा मतदान कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको जानकारी दिनुभयो । “मतदान केन्द्रको समग्र तयारी कार्य सम्पन्न भएको छ र मतदाताले ढुक्कसँग गएर मतदान गर्नका लागि निर्वाचन आयोगले सम्पूर्ण वातावरण मिलाएको छ,” उहाँले भन्नुभयो, “कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्र निर्माण गरिरहनुभएको छ । राजनीतिक दलसँग छलफल र अन्तक्र्रिया गरिरहनुभएको छ । मतदान केन्द्रमा खटिएका कर्मचारीको जिम्मेवारी बाँडफाँट गरी काम गरिरहनुभएको छ । मतदानको दिन बिहान ७ बजेदेखि मतदान कार्य सुरु हुनेछ ।” 

सहायक प्रवक्ता भुसालका अनुसार मतदाताले आफूले तोकिएको मतदान केन्द्रमा गएर मतदान गर्नुपर्ने हुन्छ । आफूलाई तोकिएको मतदान केन्द्रमा जाँदा निर्वाचन आयोगले स्वीकृत गरेका विभिन्न छ प्रकारका प्रमाण कागज तोकेको छ । ती प्रमाण कागजमध्ये कुनै एउटा प्रमाण कागज लिएर मतदान केन्द्रमा जानुपर्ने हुन्छ । 

“यस पटक चारवटा मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ । पहिलो मतपत्र प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुनेतर्फको मतपत्र हुन्छ । दोस्रो मतपत्र प्रतिनिधि सभाको समानुपातिकतर्फको मतपत्र हुन्छ । तेस्रो मतपत्र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतपत्र हुन्छ,” उहाँले भन्नुभयो ।