• १२ साउन २०८१, शनिबार

अन्तिम पटक निर्वाचन लडेको छु : पूर्व प्रधानमन्त्री खनाल

blog

इलाम, कात्तिक ३० गते । पूर्व प्रधानमन्त्री झलनाथ खनालले यो पटक आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि सातौँ पटक चुनावी प्रतिस्पर्धा गर्दै गर्दा खनालले यो  आफ्नो अन्तिम प्रतिस्पर्धा रहेको बताउनुभयो । 

नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका नेतासमेत रहनुभएका खनालले सञ्चारकर्मीसँगको कुराकानीमा अबको पाँच वर्षपछिको निर्वाचनमा आफूले उम्मेदवारी नदिने पनि स्पष्ट पार्नुभयो । ‘पाँच वर्षपछि म ७८ वर्ष पुग्नेछु । उमेरले पनि त्यसबेला साथ नदेला त्यसैले यो मङ्सिर ४ को निर्वाचन मेरा लागि अन्तिम पनि हो ।’ खनालले भन्नुभयो ‘आउँदो निर्वाचनमा मेरो आफ्नो र सत्ता गठबन्धनको जीत निश्चित छ । गठबन्धनले देशभरबाट बहुमत ल्याउँछ ।’ मुलुकको राष्ट्रियता जोगाउन, विकास निर्माण र समाज रूपान्तरणलाई अझ माथि उठाउन गठबन्धनको जीत आवश्यक रहेको नेता खनालले बताउनु भयो । 

नेता खनालले यस पटक गठबन्धनले राष्ट्रपति, प्रधानमन्त्री जे जिम्मेवारी दिए पनि आफ्नो जिम्मेवारी पूरा गर्न आफू तयार रहेको बताउनुभयो । इलाम क्षेत्र नं १ मा खनालको मुख्य प्रतिस्पर्धीका रूपमा नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत चुनावी मैदानमा रहनुभएको छ । यस्तै प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेस छोडेर स्वतन्त्र उम्मेदवार विक्रम पाण्डे पनि चुनावी मैदानमा हुनुहुन्छ । 

Author

कोकिला ढकाल