• १२ साउन २०८१, शनिबार

ओखलढुङ्गामा २५ कैदिबन्दीले मतदान गर्ने

blog

जिल्ला कारागार ओखलढुङ्गा । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई
ओखलढुङ्गा, कात्तिक २९ गते । 
मङ्सिर ४ गते हुने निर्वाचनमा ओखलढुङ्गाबाट २५ जना कैदिबन्दीले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र स्थापना गर्ने स्वीकृति दिएपछि २५ जना कैदिबन्दीले मतदान गर्ने भएका हुन् ।

निमित्त कारागार प्रमुख नरेन्द्रलाल कर्णले मतदाता नामावलीमा नाम भएका कैदिबन्दीहरुको सूची पठाइएकोमा २५ जनाको अस्थायी मतदाताको सूचिमा दर्ता भएर आएको बताउनुभयो ।

ओखलढुङ्गामा १५ जना कैदी र १० जना बन्दीले निर्वाचनमा मतदान गर्ने निमित्त कारागार प्रमुख कर्णको भनाइ छ । कारागारबाट मतदान गर्ने कैदिबन्दीले प्रतिनिधिसभा समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय प्रमुख प्रेमप्रसाद न्यौपानेले बताउनुभयो । हाल जिल्ला कारागारमा ९१ जना कैदिबन्दी रहेका छन् ।

यसैगरी, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षकर्मीहरुले समानुपातिकतर्फ मतदान गर्न पाउने भएका छन् । ओखलढुङ्गाबाट एक लाख १७ हजार ८९७ जना मतदाताले मतदान गर्ने छन् । जसमा ५९ हजार ८१५ पुरुष र ५८ हजार ८१ जना महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।