• १२ साउन २०८१, शनिबार

प्रदेश १ मा चुनावी रौनक बढ्यो

अधिकांश पुराना प्रतिस्पर्धीबीच नयाँ प्रतिस्पर्धा

blog

सचिन पोख्रेल

इटहरी, कात्तिक २९ गते । प्रतिनिधि सभा तथा प्रदेश निर्वाचनअन्तर्गत प्रदेश १ का विभिन्न निर्वाचन क्षेत्रमा निकै रोचक प्रतिस्पर्धा हुने देखिएको छ । कतिपय निर्वाचन क्षेत्रमा पहिले एउटै पार्टीमा रहेका पुराना सहकर्मीबीच प्रतिस्पर्धा हुनेछ भने कतिपयमा २०७० साल र २०७४ सालकै पुराना उम्मेदवारबीच फेरि रोचक प्रतिस्पर्धा हुने भएको छ । 

मङ्सिर ४ मा हुने निर्वाचनका लागि विभिन्न राजनीतिक दलका र स्वतन्त्र उम्मेदवार अहिले आ–आफ्नो प्रतिष्ठासमेतका लागि चुनावी मैदानमा उत्रिएका हुन् । प्रदेश १ मा प्रतिनिधि सभाका २८ र प्रदेश सभाका ५६ वटा निर्वाचन क्षेत्र छन् । यसमध्ये अधिकांश निर्वाचन क्षेत्रमा विशेष गरी वाम लोकतान्त्रिक गठबन्धन र एमालेका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा तय भएको देखिन्छ भने कतिपयमा त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान पनि गरिएको छ ।

प्रदेश १ का विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभातर्फ नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की, तत्कालीन संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला, पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौला, पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदार, कांग्रेस नेता सुनीलबहादुर थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत उम्मेदवारका रूपमा सर्वसाधारणको घरदैलोमा मत माग्न व्यस्त हुनुहुन्छ ।

त्यसैगरी प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्र राई, मुख्यमन्त्रीद्वय शेरधन राई र भीम आचार्य, जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राई, राप्रपाकी उम्मेदवार रहनुभएकी चर्चित कलाकार रेखा थापालगायत धेरै जना पूर्वमन्त्री, पूर्वसांसद, पूर्वनगरप्रमुख र स्वतन्त्र उम्मेदवारसमेतको प्रतिस्पर्धा हुने भएको छ । 

कतिपय निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका विद्रोही र बागी उम्मेदवारले पनि यस पटकको चुनावी प्रतिस्पर्धामा आफूलाई सहभागी गराएका छन् । झापा निर्वाचन क्षेत्र नं. ४ बाट एमालेका पूर्वनेता युक्त भेटवाल, झापा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा अधिवक्ता स्वागत नेपाल, धनकुटामा माओवादीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिनुभएका हेमराज भण्डारी, सुनसरी क्षेत्र नं. १ बाट एमालेको बागी उम्मेदवारका रूपमा उठ्नुभएका मनोज मेन्याङ्गवो, मोरङ क्षेत्र नं. ५ का स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डललगायतले चुनावी अभियानलाई तीव्रता दिनुभएको छ । 

यस क्रममा प्रतिनिधि सभातर्फ ताप्लेजुङमा एमालेबाट योगेश भट्टराई र गठबन्धनबाट माओवादीका नेता खिलप्रसाद बुढाथोकीबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

त्यस्तै पाँचथरमा गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे र एमालेबाट पूर्वमन्त्री वसन्त नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ । इलाम क्षेत्र नं. १ मा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले नेता महेश बस्नेतसँग प्रतिस्पर्धा गर्नुहुँदै छ । इलामको क्षेत्र नं. २ मा एमाले नेता सुवासचन्द्र नेम्वाङसँग कांग्रेसका डम्बर खड्काको कडा भिडन्त रहने सहज आकलन गरिएको छ ।

झापा क्षेत्र नं. १ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा संसद् प्रवेशका लागि यस पटक तेस्रो प्रयास गर्दै हुनुहुन्छ । २०७० सालमा रविन कोइराला र २०७४ मा माओवादीका राम कार्कीसँग पराजित हुनुभएका शर्माको यस पटक एमालेका अग्नि खरेलसँग प्रतिस्पर्धा हुने देखिएको छ । शर्माका लागि यो क्षेत्र पुरानो भए पनि खरेलका लागि पहिलो हो । 

झापा क्षेत्र नं. २ मा एमालेका प्रदेश १ इन्चार्ज देवराज घिमिरे र माओवादी केन्द्रबाट हरि रानामगरबीच प्रतिस्पर्धा हुनेछ । यही निर्वाचन क्षेत्रमा अधिवक्ता स्वागत नेपालको स्वतन्त्र उम्मेदवारी छ । झापा क्षेत्र नं. ३ मा गठबन्धनसँग राप्रपाको चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलाबीच २०७० सालको निर्वाचनदेखि निरन्तर प्रतिस्पर्धा रहँदैै आएको छ । २०७० सालको निर्वाचनमा सिटौलाले जित्नुभएको थियो भने २०७४ सालमा लिङ्देन हारको बदला लिँदै विजयी हुनुभएको थियो ।

यस क्षेत्रमा एमालेले आफ्नो उम्मेदवार नउठाई राप्रपाका लिङ्देनलाई साथ दिएको छ भने कांग्रेसका सिटौलालाई सत्ता गठबन्धनको सहयोग रहेको छ । झापा क्षेत्र नं. ४ मा कांग्रेसका देउमान थेबे र एमालेका एलपी साँवाबीच प्रतिस्पर्धा हुनेछ । यो क्षेत्रमा एमालेका पूर्वनेता युक्त भेटवालले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

झापा ५ मा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गठबन्धनका तर्फबाट कांग्रेस डा. खगेन्द्र अधिकारीले प्रतिस्पर्धा गर्नुहुने भएको छ । गत २०७४ को निर्वाचनमा पनि कांग्रेसका अधिकारी र एमाले अध्यक्ष ओलीबीच प्रतिस्पर्धा भएको थियो । 

त्यसैगरी मोरङ १ मा गठबन्धनका तर्फबाट कांग्रेसका डिगबहादुर लिम्बू र एमालेका घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुँदै छ । विगत लामो समयदेखि घनिष्ट मित्रता रहेको लिम्बू र खतिवडाबीच गत २०७० सालको निर्वाचनदेखि नै प्रतिस्पर्धा हुँदै आएको छ । २०७० सालको संविधान सभा निर्वाचनमा लिम्बूले खतिवडालाई पराजित गर्नुभएको थियो भने २०७४ मा खतिवडाले लिम्बूलाई पराजित गर्नुभएको थियो । यस पटक उहाँहरूबीचको तेस्रो चुनावी भेट हो ।

मोरङ क्षेत्र नं. २ मा कांग्रेसबाट सुजाता कोइराला र एमालेका ऋषिकेश पोख्रेलबीच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै मोरङ क्षेत्र नं. ३ मा कांग्रेसका डा. सुनील शर्मा गठबन्धनका तर्फबाट चुनावी मैदानमा हुनुहुन्छ भने एमालेबाट पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल चुनावी अभियानमा सशक्त रूपमा लाग्नुभएको छ । उहाँहरूबीच गत २०७४ सालको निर्वाचनमा प्रतिस्पर्धा हुँदा एमालेका ढकाल विजयी हुनुभएको थियो । यस पटक यही निर्वाचन क्षेत्रमा चर्चित नायिका रेखा थापाले पनि राप्रपाबाट उम्मेदवारी दिनुभएकाले मङ्सिर ४ को निर्वाचनमा यी तीन जना उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धाको आकलन गरिँदै आएको छ । 

मोरङ क्षेत्र नं. ४ मा एमालेका विनोद ढकाल र गठबन्धनका तर्फबाट माओवादीका अमनलाल मोदी चुनावी प्रतिस्पर्धामा देखिनुभएको छ । यस क्षेत्रबाट गत निर्वाचनमा एमालेको सहयोगमा कांग्रेसका महेश आचार्यलाइ पराजित गर्दै मोदी संसद् प्रवेश गर्नुभएको थियो । मोरङ क्षेत्र नं. ५ मा यस पटक वाम लोकतान्त्रिक गठबन्धनअन्तर्गत माओवादीका शिवकुमार मण्डल र एमाले–जसपा गठबन्धनअन्तर्गत जसपाका राजकुमार यादवबीच प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रमा कांग्रेस र एमाले दुवै ठूला पार्टीको उम्मेदवारी परेको छैन । यहाँ एमालेको केन्द्रीय कमिटीले गरेको निर्णयमा असन्तुष्टि जनाउँदै एमालेका नेता योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दिएर मत माग्ने क्रममा घरदैलो अभियानलाई तीव्रता दिँदै आउनुभएको छ । 

त्यस्तै मोरङ क्षेत्र नं. ६ मा कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला र एमालेका लालबाबु पण्डितबीच प्रतिस्पर्धा हुने भएको छ । उहाँहरूबीच २०७४ सालको निर्वाचनमा पनि यही निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा भएको थियो । सो निर्वाचनमा एमालेका पण्डित विजयी हुनुभएको थियो भने यस पटकको प्रतिस्पर्धामा डा. कोइराला पण्डितसँग गत निर्वाचनको बदला लिने प्रयासमा हुनुहुन्छ ।

त्यसैगरी सुनसरी क्षेत्र नं. १ मा एमालेसँगको सहयोगमा उम्मेदवार बन्नुभएका जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राई, गठबन्धनका तर्फबाट माओवादीका मुक्साहाङ मेन्याङ्बो र एमालेबाट बागीका रूपमा स्वतन्त्र उम्मेदवारी दिनुभएका मनोज मेन्याङ्बोबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । सुनसरी क्षेत्र नं. २ मा गठबन्धनका तर्फबाट कांग्रेसका सीताराम मेहता र एमालेका भीम आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ । मेहता २०७० र २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो भने आचार्यको लागि यो क्षेत्र पहिलो अनुभव हुनेछ । उहाँ २०७४ सालमा सुनसरी नं. १ (क) प्रदेश सभामा विजयी हुनुभएको थियो । प्रदेश १ का पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका आचार्य २०७० सालको निर्वाचनमा सुनसरी क्षेत्र नं. ४ बाट निर्वाचित हुनुभएको थियो ।

सुनसरी क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका तर्फबाट विजयकुमार गच्छदार र एमालेका तर्फबाट भगवती चौधरीबीच तेस्रो पटकको कडा प्रतिस्पर्धा हुने देखिन्छ । उहाँहरूबीच २०७० र २०७४ सालमा पनि प्रतिस्पर्धा भएको थियो । २०४८ सालदेखि सम्पन्न सबै निर्वाचनमा विजयी बन्दै आएर सातौँ पटक संसद् प्रवेशको प्रयासमा नेता गच्छदार अहिले चुनावी अभियानमा सशक्त रूपमा होमिनुभएको छ । 

त्यस्तै सुनसरी क्षेत्र नं. ४ बाट भने वाम लोकतान्त्रिक गठबन्धनकै साझा उम्मेदवारका रूपमा नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीश कुसियतबीच प्रतिस्पर्धा हुने देखिन्छ । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री कार्कीले २०७४ सालमा यही क्षेत्रबाट निर्वाचित भएर यस क्षेत्रको विकास निर्माण अभियानलाई प्राथमिकता दिनुका साथै गरिब तथा विपन्न वर्गको आर्थिक जीवनस्तर उकास्ने परियोजना सञ्चालनलाई समेत प्राथमिकता दिँदै आउनुभएको छ । उहाँले यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, सिँचाइ, सडक तथा पुल निर्माण, विशेष आर्थिक क्षेत्रअन्तर्गत औद्योगिक पूर्वाधार निर्माणलगायतका कामलाई पनि प्राथमिकता दिनुभएको छ । उहाँसँग चुनावी अभियानमा प्रतिस्पर्धा गर्नुहुने एमालेका कुसियत यसअघि सुनसरी क्षेत्र नं. ४ (क)बाट प्रदेश सभामा विजयी भएर प्रदेश सरकारको पर्यटनमन्त्री बन्नुभएको थियो ।

प्रतिनिधि सभातर्फ एउटा निर्वाचन क्षेत्र रहेको धनकुटामा २०७४ सालकै प्रतिस्पर्धीबीच भिडन्त हुने भएको छ । धनकुटामा गठबन्धनका तर्फबाट कांग्रेसका सुनीलबहादुर थापा र एमालेका तर्फबाट राजेन्द्रकुमार राईले चुनावी अभियानलाई अगाडि बढाउनुभएको छ । २०७४ सालको निर्वाचनमा यी दुई नेताबीचको प्रतिस्पर्धामा एमालेका राई विजयी हुनुभएको थियो । धनकुटामा पूर्वसभासद् हेमराज भण्डारीले माओवादी पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । चुनावी मैदानमा माओवादीका पूर्वपोलिटब्युरो सदस्य भण्डारीसमेतको उपस्थितिले धनकुटामा यस पटक त्रिपक्षीय प्रतिस्पर्धाको आकलन गरिएको छ । 

तेह्रथुममा गठबन्धनबाट कांग्रेस नेत्री सीता गुरुङ र एमालेबाट विजय सुब्बाबीचको प्रतिस्पर्धा रोचक हुने देखिन्छ । सङ्खुवासभामा कांग्रेसका दीपक खड्का र एमालेका राजेन्द्र गौतमबीच चुनावी भिडन्त हुनेछ । उहाँहरूबीच नै भएको २०७४ को निर्वाचनमा एमालेका गौतमले जित्नुभएको थियो ।

भोजपुरमा एमालेबाट उमेदबार बन्नुभएका प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईसँग गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार एवं निवर्तमान सांसद सुदन किराँतीबीच प्रतिस्पर्धा हुँदै छ । त्यस्तै उदयपुर क्षेत्र नं. १ मा कांग्रेसबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र एमालेकी मञ्जु चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ । उदयपुर क्षेत्र नं. २ मा एकीकृत समाजवादीका जगन्नाथ खतिवडा र एमालेका ज्ञानेन्द्र श्रेष्ठबीच भिडन्त हुनेछ । ओखलढुङ्गामा कांग्रेसका रामहरि खतिवडा र एमालेले निवर्तमान सांसद यज्ञराज सुनुवारबीच प्रतिस्पर्धा हुनेछ । गत २०७४ को निर्वाचनमा पनि यी दुई नेताकै बीचमा प्रतिस्पर्धा भएको थियो ।

खोटाङमा एमाले नेता विशाल भट्टराई र माओवादी नेता रामकुमार राईबीच प्रतिस्पर्धा हुने भएको छ । सोलुखुम्बुमा गठबन्धनबाट काँग्रेसका बलबहादुर केसीले एमालेका मानवीर राईसँग प्रतिस्पर्धा गर्नुहुने भएको छ ।