• ११ मंसिर २०८१, मङ्गलबार

निर्वाचनमा लिमी खटिएका कर्मचारीलाई हेलिकोप्टरबाट ओसारिने

blog

न्यालुु लेकमा जमेको हिउँ छिचोल्दै लिमी जाँदैगरेका वडा अध्यक्ष तामाङको समुह । फाइल तस्बिर

राजन रावत

हुम्ला, कात्तिक २८ गते । मङ्सिर ४ गतेको निर्वाचनका लागि नाम्खा गाउँपालिका –६ को हिमालपारि गाउँ लिमीमा खटिने कर्मचारीलाई हेलिकोप्टरबाट ओसारिने भएको छ । लिमी जाने दुई वटै नाकामा बाक्लो हिमपात भएपछि निर्वाचन आयोगले हेलिकोप्टरको व्यवस्था गरेको हो ।

मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले निर्वाचनका लागि लिमीका तीन मतदान केन्द्रका लागि खटिने कर्मचारी, सुरक्षाकर्मीलाई हेलिकोप्टरबाट ओसार्न निर्वाचन आयोग सहमत भएको बताउनुभयो । सो व्यवस्थाका लागि यसअघि जिल्लाबाट माग भएको थियो । 

जिल्लाको मागअनुसार आयोग हेलिकोप्टर व्यवस्था गर्न सहमत भएकाले अब लिमीमा पनि निर्वाचन सम्पन्न गर्न सहज हुने स्थानीयको बुझाइ छ । कात्तिक ३० गते हेलिकोप्टर सिमकोट आएर खटिएका कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री ढुवानी गर्ने सापकोटाले बताउनुभयो । 

पैँतालीस जना कर्मचारी र सुरक्षाकर्मी लिमीका तीन मतदान केन्द्रमा खटाइएका छन् । आयोगले कर्मचारीलाई निर्वाचनका लागि लिमी लग्ने मात्र नभएर मतदान कार्य सम्पन्न भएपछि मतपेटिका र कर्मचारीलाई समेत हेलिकोप्टरबाटै ल्याउनु पर्नेछ । 

किनकि लिमी जाने दुवै नाका, चार हजार ६ सय मिटर अग्लो नारा र पाँच हजार मिटर अग्लो न्यालुु लेकमा चारदेखि पाँच फिट हिउँ जमेको छ । हिमपातपछि हालसम्म लिमीका वडा अध्यक्ष पाल्जोर तामाङसहित चार जनाको टोलीले न्यालुु लेकको पाँच फिट हिउँ छिचोलेर पाँच दिन लगाएर लिमी पुगेको जनाएको छ ।  निर्वाचनको प्रचार प्रसारका लागि दलका उम्मेदवार र नेताहरू समेत लिमी पुग्न पाएका छैनन् ।