• १२ साउन २०८१, शनिबार

उम्मेदवार घरदैलोमा, मतदाता खेतमा व्यस्त

blog

उम्मेदवारहरु भोट माग्दै घरदैलोमा, मतदाताहरु धान काट्न खेतमा व्यस्त । तस्बिर : ठाकुर सेनेहाङ

ठाकुर सेनेहाङ 

तेह्रथुम, कात्तिक २८ गते । मङ्सिर ४ गते हुने निर्वाचनका लागि तेह्रथुममा विभिन्न दलका उम्मेद्वारहरु चुनावी माहौल बनाउन मतदाताको घरदैलोमा रहनुभएको छ । तर मतदाताहरुलाई भने धान भित्र्याउने चटारो छ । अधिकांश मतदाता खेतमा व्यस्त छन् ।

कृषकले लगाएको धान पाकेर पहेँलपुर बनेको छ । थन्क्याउन लागेको बेलामा असिना र पानी आयो भने आफूले श्रम गरी उत्पादन गरेको बाली माटोमै मिल्ने किसानलाई चिन्ता छ । 

उता निर्वाचन नजिकिँदै जाँदा आफ्नो पक्षमा मत माग्न उम्मेदवारहरुलाई मतदाता रिझाउन हतारो छ । नेताहरु आफूलाई भेट्न आएको तर आफूहरु धान काट्न र थन्क्याउन व्यस्त रहेको म्याङलुङ नगरपालिका –५ का मनमाया सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेताहरु भोट माग्न मतदाताका घरमा आउनुहुन्छ । हामीलाई बाली थन्क्याउने हतार छ ।’ 

उम्मेदवारले नागरिकको समस्यालाई समाधान गर्न पहल गर्ने आश्वासन दिँदै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहनुभएको छ । एक मात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रदेशसभा (क) र (ख) मा आफुनो चुनावी भेटघाट र घरदैलोमा जुटेका छन् । तेह्रथुममा विकास र समृद्धि ल्याउन उम्मेद्वारी दिएकाले आफूलाई जिताउन नागरिकलाई प्रतिनिधि सभाकी उम्मेद्वार तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङले आग्रह गर्नुभयो ।  

नेकपा (एमाले) बाट  प्रतिनिधि सभा उम्मेदवार डा. विजय सुब्बा पनि मतदातासँगको भेटघाटमा व्यस्त रहनुभएको छ । ‘भ्रष्टाचार मुक्त समाज र संसदमा संविधानविपरीत भएका कुरालाई आफ्नो पक्षबाट उठान गर्दै तेह्रथुमको दीर्घकालीन विकासका लागि नागरिकसमक्ष आएको र विगतमा आफूले खेलेको भूमिकालाई सम्झन मतदातालाई आग्रह गरिरहनुभएको छ । मतदाताबाट आफूलाई सहयोग हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

एक मात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा दलहरु आफ्ना उमेरद्वारसहित चुनावी भेटघाट तथा घरदैलो कार्यमा व्यस्त रहनुभएको छ । तेह्रथुममा एमाले र सत्ता गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । गुरुङ गत २०७४ को निर्वाचनमा एमालेका भवानीप्रसाद खापुङसँग २ हजार २१ मतले पराजित हुनुभएको थियो । 


खापुङले २१ हजार ३ सय ३५ मत ल्याएर विजयी बन्नुभएको थियो भने गुरुङले १९ हजार ३ सय १४ मत ल्याएर पराजित हुनुभएको थियो  । यस पटक गुरुङलाई सत्ता गठबन्धनको साथ छ भने एमाले एकल चुनावी मैदानमा छ । गत निर्वाचनमा प्रतिनिधि सभा र प्रदेशसभा (क) र (ख) दुवै क्षेत्र एमालेले जितेको तेह्रथुममा यस पटक सत्ता गठबन्धन आफ्नो पक्षमा जित निकाल्ने कसरतमा छ ।तेह्रथुममा एक स्वतन्त्रसहित प्रतिनिधिसभामा १० जना उम्मेरद्वार हुनुहुन्छ । जिल्लामा ७१ हजार ९ सय ३३ मतदाता छन् ।