• १२ साउन २०८१, शनिबार

आचारसंहिताविपरीत राखिएका तोरण र झण्डा हटाइयो

blog

सुनसरीका सुरक्षा अधिकारी र प्रमुख दलहरुवीचको छलफल कार्यक्रममा सहभागीहरु । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, कात्तिक २८ गते । सुनसरीमा निर्वाचन प्रचारप्रसार र सभाको चरण सुरु भएपछि दल र स्वतन्त्रका उम्मेदवारले सार्वजनिक स्थानमा राखिएका तोरण, ब्यानर, झण्डा निर्वाचन चारसंहिता अनुगमन समितिले हटाएको छ । 

सार्वजनिकस्थलमा तोरणसहितका झण्डा झुण्ड्याएर गाउँशहरको स्वरुप नै बिगारेको गुनासो, उजुरी परेपछि जिल्ला निर्वाचन चारसंहिता अनुगमन समितिले ती सामग्री  हटाएको हो । 

जिल्लाको निर्वाचन क्षेत्र नं. ४ मा सबैभन्दा बढी निर्वाचन चारसंहिताविपरीत काम गर्ने दल र स्वतन्त्रका उम्मेदवारबीच होडबाजी नै चलेको गुनासो आएकाले सोमबार सर्वदलीय बैठक बसेर हटाउने निर्णय गरेको थियो । निर्णयलगतै तोरण र झण्डाहरु हटाइएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो । 

जिल्लाको गाउँ–सहरकाे स्वरुप नै बिग्रिनेगरी फ्लेक्स, पोस्टर, ब्यानर, झण्डाको तोरण टाँगेर निर्वाचन आचारसंहिताको व्यापक उल्लङ्घन भएको स्थानीयवासी र सञ्चारमाध्यमले उठाएपछि ठूला राजनीतिक दलदेखि साना दलहरु र स्वतन्त्रका प्रतिनिधिको उपस्थितिमा निर्वाचन आचारसंहिता २०७९ को प्रतिकूल हुनेगरी राखिएका सामग्री हटाउने निर्णयसँगै  झण्डा हटाएको अधिकारीले बताउनुभयो । 

जिल्लामा राजनीतिक दल र स्वतन्त्रका उम्मेदवारले सार्वजनिकस्थल, विद्युतको पोल, चौतारा, बसपार्क, हाटबजार र सडकको चौबाटोमा तोरण, ब्यानर, झण्डा झुण्ड्याएर स्वरुप नै बिगारेका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको सर्वदलीय छलफल कार्यक्रममा कांग्रेसका जिल्ला सभापति केदार भण्डारी, नेकपा (एमाले) का लक्ष्मी गौतम, जसपाका महेन्द्र यादव, लोसपाका रामनारायण यादव, नेकपा (माओवादी केन्द्र) का योगेन्द्र मण्डल, सङ्घीय लिम्बुवान राष्ट्रिय मञ्चका अमर इजम लिम्बु, नेपालका लागि नेपाली पार्टीका डम्बरबहादुर घिमिरे, मङ्गोल नेशनलका सन्तहीरा राई, राप्रपाका उपाध्यक्ष अबधविहारी साह, नेकपा (एस) का अध्यक्ष गोविन्द निरौलासहित दलका प्रतिनिधिको सहभागिता थियो ।