• १९ असोज २०८१, शनिबार

उम्मेदवारको पक्ष-विपक्षमा उभिने स्थानीय प्रशासनमाथि कारबाही हुन्छ: निर्वाचन आयुक्त भण्डारी

blog

काठमाडौँ, कात्तिक २८ गते । निर्वाचन आयोगले उम्मेदवारहरूको पक्ष-विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने  निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चेतावनी दिनुभएको छ । उहाँले स्थानीय प्रशासनले निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने बताउनुभएको हो । 

उहाँले स्थानीय प्रशासनका कर्मचारीहरूले चुनाव लक्षित राजनीतिक दलका कुनै पनि उम्मेदवारहरूसँग पक्ष-विपक्षमा लागेर काम गरेको पाएमा सरकारी सेवा नै धरापमा पर्न सक्ने बताउनुभयो । कुनै पनि स्थानीय प्रशासनहरू उम्मेदवारहरूको पक्ष-विपक्षमा उभिएको पाइए आयोगलाई जानकारी गराउन पनि सञ्चार माध्यमहरुलाई आग्रह गर्नुभयो । उहाँले निर्वाचनलाई असर पार्ने खालका कुनै पनि क्रियाकलाप गर्न नपाइने पनि बताउनुभयो । 

स्थानीय तहमा कार्यरत कर्मचारीहरू कामको सिलसिलामा राजनीतिक दलका नेता कार्यकर्ता उम्मेदवारसँग नजिक भएर काम गर्ने भएकोले निर्वाचनको समयमा पक्ष-विपक्षमा उभिने सम्भावना भएको भन्दै सबै सजग हुनुपर्ने बताउनुभयो । आयुक्त भण्डारीले निर्वाचन आयोग र मातहतका  कार्यालयले स्थानीय तहमा कार्यरत कर्मचारीहरूको गतिविधिमा सूक्ष्म ढङ्गले निगरानी राखेको पनि बताउनुभयो ।

निर्वाचन आयुक्त भण्डारीले भन्नुभयो, ‘दलहरूको पक्ष र विपक्षमा स्थानीय प्रशासन लाग्दैन भन्नेमा हामी ढुक्क छौँ । कुनै ठाउँको स्थानीय प्रशासन कुनै उम्मेदवारको पक्षमा लागेर अरूको विपक्षमा लागेको देखियो भने तत्क्षण नै कारबाही हुन्छ । नेपाल न्यूज एजेन्सीबाट