• ७ वैशाख २०८१, शुक्रबार

त्रिपुण्डक टीका र गेरु पहिरनमा मतको अपिल

blog

कास्की समाचारदाता

कास्की, कात्तिक २८ गते । निधारमा त्रिपुण्डक टीका, गलामा गेरु रङको गलबन्दी । झट्ट हेर्दा कुनै हिन्दु पुजारीको झल्को दिने पहिरन तर उहाँ पुजारी नभई कास्की क्षेत्र नं. २  प्रदेश सभा (ख) का उम्मेदवार हुनुहुन्छ, अरुण गिरी । उहाँले यतिबेला यही हुलियामा आफ्ना निर्वाचन क्षेत्रअन्तर्गत विभिन्न वडामा पुगेर मत माग्नुभएको छ । 

हुलियाकै कारण गिरी अन्य दलका उम्मेदवारहरूभन्दा फरक देखिनुहुन्छ । यस्तो हुलियाको अवधारणा कसरी आयो ? उम्मेदवार गिरी भन्नुहुन्छ, ‘‘खासगरी मेरो यस्तो गेटअपको अवधारणा हाम्रो पार्टी राप्रपाको मान्यतासँग मिल्छ । त्यसैमाथि मैले वैदिक सनातनी धर्महरूको सम्मानमा यस्तो पहिरन लगाएको हुँ ।” 

उहाँका अनुसार, “त्रिपुण्ड टीकाले हिन्दु धर्मको विशेषता झल्काउँछ भने गेरु गलबन्दीले सबै सनातन धर्मको प्रतिनिधित्व गर्छ ।” सनातन हिन्दु धर्मको प्रभाव र आकर्षण युवापुस्तामा पनि होस् भन्ने हेतुले आफूले यस्तो शैली अपनाएको उहाँले स्पष्ट पार्नुभयो । 

“अहिलेको युवापुस्ता विदेशी स्टाइललाई मात्रै ‘मोडर्न’ मान्छन् तर हाम्रो आफ्नै संस्कारलाई पनि आफ्नै मौलिक ‘स्टाइल’ बनाउन सकिन्छ भन्ने कुराको एउटा सन्देश दिन खोजेको हुँ”, उहाँले भन्नुभयो । त्योसँगै त्रिपुण्डक टीका लगाउँदा तनाव कम हुने वैज्ञानिक कारण पनि रहेको भनाइ उहाँको छ । 

त्रिपुण्डक र गेरु गलबन्दी धारणले आफ्नो व्यक्तित्व पनि प्रदर्शन गर्छ । नयाँ सोच र व्यवहारमा प्रस्ट भएको देखाउनका लागि पनि यस्तो ‘गेटअप’ आवश्यक छ उहाँले थप्नुभयो, आम सर्वसाधारण नागरिकका दुःख, पिरमर्का समाधान गर्नका लागि राप्रपाबाट उम्मेदवारी दिएको हुँ । 

‘धर्म संस्कारको बचाऊ गर्दै मौलिक खालको विकास र समृद्धि’ उहाँको चुनावी एजेन्डाहरू हुन् । युवालाई स्वदेशमै स्वरोजगार बनाउने र रोजगारी सिर्जनाको वातावरण निर्माण गर्न आफू राजनीतिमा होमिएको गिरीको भनाइ छ । 

भूगोल सुहाउँदो विभिन्न २४ बुँदे एजेन्डासहित उहाँले आफ्नो पक्षमा मत माग्नुभएको छ । राजनीतिमा सक्रिय रूपमा लागेको केही समयमै राप्रपाले गिरीलाई चुनावको टिकट दिएको थियो । उहाँ पार्टीले दिएको जिम्मेवारीलाई कुनै पनि हालतमा सफल बनाउने अभियानमा हुनुहुन्छ ।