• २७ साउन २०८१, आइतबार

कपिलवस्तु

सिँचाइलाई मुख्य योजना बनाउँदै कपिलवस्तुका उम्मेदवार

blog

नाला खन्ने काम रोकिएपछि वर्षौँदेखि रोकिएको बुद्धभूमि नगरपालिकामा रहेको गुडरुङ खोला सिँचाइ योजनाको बाँध । तस्बिर: जानु पाण्डे

कपिलवस्तु कात्तिक २७ गते । कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ का उम्मेदवारहरूले सिँचाइको समस्या समाधान गर्ने मुख्य सङ्कल्प रहेको बताएका छन् । मत माग्न घरदैलो गर्ने क्रममा आफ्नो पहिलो प्राथमिकता सिँचाइको समस्या समाधान गर्ने रहेको बताउने गरेका छन् ।

क्षेत्र नम्बर २ मा एमालेको तर्फबाट केन्द्रीय सदस्य तथा पूर्व मन्त्री इन्जिनियर बृजेशकुमार गुप्ता उम्मेदवार बन्नुभएको छ । गुप्ताले कपिलवस्तु जिल्ला कृषिको उर्वर भूमि भएको हुँदा कृषकको समस्यामा जोड दिने बताउनुभयो । सिँचाइ र मलखादको अभावले कृषकहरू सधैँ समस्यामा रहेको बताउँदै दीर्घकालीन रूपमा समस्या समाधान गर्न र नौमुरे परियोजनालाई तीव्र गतिमा अगाडि बढाउने बताउनुभयो । तत्कालका लागि बुद्धभूमि नगरपालिका ७ मानपुरको सेखुनिया ताल र वडा नम्बर १ गुडरुङ सिँचाइ आयोजनालाई सुचारु गर्ने बताउनुभयो । 

सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका प्रदेश महामन्त्री तथा पूर्व राज्यमन्त्री सुरेन्द्रराज आचार्यले सिँचाइको समस्या समाधान गर्ने पहिलो प्राथमिकता रहेको बताउनुभयो । उहाँले आफू पूर्व मन्त्रीसमेत भएको हुँदा सिँचाइसम्बन्धी अनुभव रहेको दाबी गर्नुभयो । उहाँले निर्वाचन क्षेत्रमा सिँचाइको लागि गुडरुङ सिँचाइ आयोजना पूरा गर्ने र डिप बोरिङका योजना सञ्चालन गर्ने बताउनुहुन्छ । 

उम्मेदवारले योजना सम्पन्न गर्ने दाबी गरे पनि दुबै योजनाको काम वर्षौँदेखि रोकिएका । एक दशक अगाडि बुद्धभूमि र महाराजगन्ज नगरपालिकामा सिँचाइ गर्ने सेखुनिया ताल अतिक्रमणको चपेटामा परेको छ । स्थानीय सरकार र समुदायले अपनत्व नलिँदा तालको पश्चिमतर्फको डिल भत्काएर बस्ती बस्ने र खेतीपाती भएको छ । जग्गाको मुअाब्जा नपाएको भन्दै तालको डिल तोडेर जग्गा कब्जा गरिएको छ ।  बाँकी बचेको करिब आधा भूभागमा बुद्धभूमि नगरपालिकाले माछापालनको लागि ठेक्का दिएको छ । सेखुनिया तालको सिँचाइ आयोजनाको लागि बजेट परे पनि जग्गाकै विवादका कारण काम रोकिएको छ । 

आचार्यको गृह नगरीमा रहेको गुडरुङ सिँचाइ आयोजनाको बाँघ करिब ७ वर्ष अगाडि निर्माण गरिएको थियो । पानी बग्ने मुख्य नाला वन क्षेत्र हुँदै जाने भएको कारणले नाला खन्ने काम अवरोध भएको थियो । आईइइको काम नभएको कारण वर्षौँदेखि नाला खन्ने काम रोकिएको छ । सिँचाइ आयोजना निर्माण समितिका अध्यक्ष श्यामप्रसाद खनालले जनप्रतिनिधिले चासो नदिँदा नहरको काम सम्पन्न नभएको दाबी गर्नुहुन्छ । मत माग्न घरदैलो गर्ने क्रममा जनताले सिँचाइको समस्या सुनाउने गरेको लोसपाका उम्मेदवार अकबाल अहमद शाहले बताउनुभयो ।

Author

जानु पाण्डे