काठमाडौँ, कात्तिक २७ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन भएको छ ।
नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको थियो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मतदान सुरु हुनुभन्दा १० दिन पहिले तोकिएको स्थानमा पुगी सुरक्षा तयारी सुरु गरेको छ । निर्वाचन सुरक्षार्थ परिचालन भएसँगै एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेनाले केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन सुरक्षा कक्षसमेत स्थापना गरेको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले निर्वाचन सुरक्षार्थ नेपाली सेना गत कात्तिक ४ गतेदेखि परिचालन भई शनिबारसम्म सबै स्थानमा पुगिसकेको जानकारी दिनुभयो । निर्वाचन सुरक्षार्थ ७७९ स्थानमा कम्पनी अपरेटिङ बेस (सीओपी) तथा पल्टुन अपरेटिङ बेस (पीओवी) स्थापना भइसकेका छन् । एक पल्टुनमा ३९ जना सैनिक रहने र तीन पल्टुन बरबर एक कम्पनी रहने गरी नेपाली सेनाको संरचना रहेको छ ।
यसैगरी सेनाले सुरक्षा संवेदनशीलताका आधारमा देशका ७६२ स्थानमा बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको र थप १४३ स्थानमा फौज राख्ने तयारी भइरहेको जनाएको छ । सरकारले निर्वाचनको अवधिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा प्रदान गर्दै आएका विमानस्थल, महìवपूर्ण सम्पदा तथा कारागारलगायत १११ स्थानको सुरक्षामा परिचालन हुने गरी तयारी अवस्थामा रहेको सेनाले जनाएको छ ।
यसअघि निर्वाचन आयोगको मुख्यालय तथा मतदान सामग्री, मतपत्रको सुरक्षा र प्याकेजिङका लागि एक सय जना नेपाली सेना यसअघि नै परिचालन भइसकेका छन् । प्रत्यक्ष तथा समानुपातिकतर्फका सबै मतपत्रको छपाइ सकिएको छ । मतपत्रको ढुवानीको जिम्मेवारी नेपाली सेनाले मतदान सुरु हुनुभन्दा १० दिन पहिले पूरा गरेको छ । अन्य जिल्लामा मतपत्रको ढुवानी एक हप्तापहिले नै पूरा भएको थियो । सेनाले हिमाली जिल्ला जुम्ला, मुगु, हुम्ला, मनाङ, मुस्ताङ, डोल्पा र बाजुरामा हवाई साधनद्वारा मतपत्र ढुवानी गरिसकेको छ । एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना निर्वाचनको अवधिमा मतदानस्थलको बाहिरी सुरक्षा, हवाई तथा स्थल गस्ती, विस्फोटक पदार्थकको नियन्त्रण तथा निष्क्रिय गर्नेलगायतमा परिचालन हुनेछ । सोका लागि पृतना, बाहिनी, गुल्मबाट ७४ हजार ८४९ सैनिक प्रत्यक्ष रूपमा निर्वाचन क्षेत्रमा परिचालन गरिएको सैनिक मुख्यालय जङ्गी अड्डाले जनाएको छ ।
निर्वाचन सुरक्षामा असर पर्ने गरी कुनै गतिविधि भए तत्काल परिचालन हुने गरी काठमाडौँ पोखरा, चितवन, बर्दिवास, इटहरी, सुर्खेतलगायतका स्थानमा सेनाले हवाई साधनसहित १५० सैनिक तयारी अवस्थामा राखेको जनाएको छ । सुरक्षा संवेदनशील रहेका मतदान स्थलमा तत्काल परिचालन हुने गरी १३ हजार ६१० सैनिकलाई मतदान स्थलबाट ३० मिनेटको दूरीमा तयारी अवस्थामा राखिनेछ । विस्फोटक पदार्थ पत्ता लगाउन र निष्क्रिय पार्न देशभर दुई हजार ५६० तालिम प्राप्त बम डिस्पोजल टोलीलाई पूर्वतयारी अवस्थामा राखिएको छ ।