• २७ वैशाख २०८१, बिहिबार

गुरुयोजनाविपरीत ‘पम्प ट्र्याक’

blog

ललितपुर, कात्तिक २७ गते । बागमती नदी किनार अतिक्रमण तीव्र बन्दै गएको अवस्थामा पछिल्लो पटक गुरुयोजनाविपरीत ‘पम्प ट्र्याक’ (उबरखबाड घुम्तीहरू भएको साइक्लिङ गर्ने ठाउँ) निर्माण गरिएको छ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुमतिमा ललितपुर महानगरपालिका–१ र नेपाल साइकल एसोसिएसन नामक संस्थाको सहकार्यमा ललितपुरको कुपण्डोलस्थित बागमती किनारमा ‘पम्प ट्र्याक’ निर्माण गरी सञ्चालनमा ल्याइएको छ। बागमती विकास गुरुयोजनाविपरीत सो ‘पम्प ट्र्याक’ निर्माण गरिएको हो। समितिले तयार पारेको गुरुयोजनामा भनिएको छ, “बागमती क्षेत्राधिकारभित्र कुनै पनि स्थायी संरचना निर्माण गर्न पाइने छैन” तर समितिले आफ्नै गुरुयोजनाविपरीत स्थायी संरचना निर्माण गर्न अनुमति दिएको हो।

समितिले एकातिर बागमती किनारका संरचना हटाउन सूचना सार्वजनिक जारी गरेको भने अर्कातिर नयाँ संरचना बनाउन अनुमति दिइरहेको छ। यसअघि नै बागमती–मनहरा दोभानदेखि सुन्दरीघाटसम्म अहिलेसम्म ठूला–साना गरी तीन दर्जनभन्दा बढी स्थायी संरचना नै निर्माण भइसकेका छन्। 

समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेनाले समितिबाट अनुमति लिएर सो ‘पम्प ट्रयाक’ निर्माण गरिएको बताउनुभयो। सो ट्र्याक निर्माण अध्ययनका लागि गठित उपसमितिले सो ठाउँमा ‘ट्र्याक’ निर्माण उपयुक्त हुन्छ भनिदिएको प्रतिवेदनका आधारमा समितिले अनुमति दिएको उहाँले दाबी गर्नुभयो।  

विदेशमा समेत लोकप्रिय रहेको ‘पम्प ट्र्याक’ नेपालमा पहिलो पटक निर्माण हुन लाग्दा आफूहरूले अनुमति दिएको उहाँको प्रतिक्रिया छ। अध्यक्ष तिमल्सेनाका अनुसार सो ठाउँ सधैँका लागि स्थायी रूपमा ‘पम्प ट्र्याक’ सञ्चालनका लागि दिइएको हो।

तर यो कार्य तपाइहरूले तयार गर्नुभएको गुरुयोजनाविपरीत हो। नदी किनारा खुला राख्नुपर्ने अवस्थामा गैरसरकारी संस्थालाई खेलमैदान निर्माण गरी सञ्चालनको अनुमति किन दिनुभयो भनी जिज्ञासामा अध्यक्ष तिमल्सेनाले पम्प ट्र्याक निर्माण नियमविपरीत नभएको बरु त्यसले नदी किनारलाई स्वच्छ, सफा, हराभरा बनाउने प्रतिक्रिया दिनुभयो। ‘पम्प ट्र्याक’ निर्माणले बागमती ‘ब्युटिफिकेसन’ अभियानमा असर नगर्ने दाबी उहाँको छ।  

ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकारले नेपालमा साइक्लिङ र यससँग सम्बन्धित खेलको उत्थानका लागि वडा कार्यालय र नेपाल साइकल एसोसिएसनले संयुक्त पहलमा ‘पम्प ट्र्याक’ निर्माण गरिएको बताउनुभयो। साइकल एसोसिएसनले बेलायतको लगानीमा सो ‘पम्प ट्र्याक’ निर्माण गरे पनि एसोसिएसनले वडा कार्यालयलाई हस्तान्तरण गर्ने र त्यसको सम्पूर्ण स्वामित्व वडा कार्यालयको रहने उहाँले बताउनुभयो।  

 वडा कार्यालयले नदी किनारमै खेलमैदान, गौशाला तथा टहरा निर्माण गरी भाडामा समेत लगाएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र स्थानीय तहले नै नर्सरी सञ्चालन गर्न, ड्राइभिङ सेन्टर चलाउन, पार्किङ सञ्चालनलगायत विभिन्न व्यावसायिक प्रयोजनका लागि व्यक्ति, क्लब तथा सङ्घसंस्थालाई बागमती नदी किनारका जग्गा कहीँ भाडामा त कहीँ निःशुल्क नै दिएको पाइएको छ। यहाँसम्म कि नदी किनारमा निर्माण गरिएको पार्क सःशुल्क सञ्चालन गरिएको छ।