• ११ मंसिर २०८१, मङ्गलबार

निर्वाचनले नछोएको शरणार्थी बस्ती

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, कात्तिक २६ गते  । मोरङको पथरीशनिश्चरे–१० मा पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको छ सय घर धुरीको एउटा सानो बस्ती छ। नजिकै जोडिएको बस्तीसँग भाषा, धर्म, संस्कार, संस्कृति र रीतिरिवाज मिले पनि उनीहरूलाई सङ्घीय गणतान्त्रिक मुलुकको चुनावले कहिल्यै छुँदैन। 

२०४८ यता उनीहरूले धेरैवटा चुनाव देखे। छेउको बस्तीका मानिसहरू विभिन्न दलका झण्डा बोकेर हिडेको देख्दा उनीहरूलाई पनि त्यही हुलमा मिसिन मन लाग्थ्यो। शरणार्थी भएका कारण उनीहरूले आजसम्म मताधिकार के हो भन्ने बुझेका छैनन्। 

सत्तरी वर्षीय भक्तबहादुर थापाले आजसम्म कहिले मतदान गर्नुभएको छैन। पाखुरामा मस्त बल भएका बेला २०४७ सालमा भुटानको दागानाबाट शरणार्थी भएर नेपाल छिर्नुभएका थापा सबै आफन्त तेस्रो मुलुक जाँदा पनि शिविरमै हुनुहुन्छ। अमेरिका वा अष्ट्रेलिया जहाँ गए पनि पहिचान शरणार्थी नै हुने भए पछि नेपालकै माटोमा मर्ने इच्छाले गर्दा अन्त जानुभएन। 

तीन पुस्ताअघि ताप्लेजुङको तेल्लोकबाट भूटान छिर्नुभएका ६० वर्षीय चन्द्रबहादुर भट्टराई पनि नेपालमै बसि खान पाउने आशामा अमेरिका जानुभएन। उहाँले पनि अहिलेसम्म मतदान गर्नुभएको छैन। भट्टराईले भन्नुभयो, “चुनाव उत्सव जस्तै लाग्छ, तर हाम्रो मत चल्दैन। अरूबेला शरणार्थी भएको कहिल्यै अनुभव हुन्न। जतिबेला अधिकार प्रयोगको कुरा हुन्छ, त्यसबेला भूटानी शरणार्थी भएको अनुभुति हुन्छ।”  

आफ्ना ७६ वर्षीय बुवाले तेस्रो देश जान नमानेपछि ५६ वर्षीय लक्षुमन गुरुङ पनि शरणार्थी शिविरमै हुनुहुन्छ। आफन्त सबै अमेरिकामा छन्। “बुवाआमाले अमेरिकाको नाम सुन्नै चाहनु भएन। त्यसैले बुवाआमाको स्याहार गरेर बसिरहेको छु,” लक्षुमनले भन्नुभयो। लक्षुमन पनि आफूहरूलाई नेपाल सरकारले नेपालमै बस्ने र नागरिकता दिनुपर्ने बताउनुहुन्छ। उहाँले भन्नुभयो, “तीन पुस्ता शरणार्थी भएर बितिसक्यो। अब नेपाल सरकारले हामीलाई नेपाली बनाएर राख्नुपर्छ।” उहाँले मतदान गर्ने इच्छा भए पनि अहिलेसम्म मतदान नगरेको बताउनुभयो।  शिविरमा कि भूटान फर्काइदेउ कि नेपालको नागरिक बनाइदेउ भनेर बस्ने शरणार्थी थोरै छन्। 

अमेरिकालगायत देशको भिसा पर्खेर बसेकालाई चुनाव र मतदानसँग कुनै सरोकार छैन। डुकुमाया तिवारीले भन्नुभयो, “हामीलाई चुनाव होस् या नहोस, हाम्रो बुवाआमासँग अमेरिका जान पाए भयो।”

५६ वर्षीय इच्छेकुमार दासलाई अब अमेरिका वा भुटान गइन्छ भन्ने विश्वास छैन, उहाँले भन्नुभयो, “अब प्रक्रिया पूरा गरेर नेपालले हामीलाई बस्ने आधार मिलाइदिनु पर्छ।”  

सङ्घर्ष र अभाव खेपेर शरणार्थी शिविरको छाप्रोभित्र जिन्दगी चलाएकाहरू हाँसेर जीवन बिताउन नपाएको भन्दै दुखेसो पोख्छन्। हालसम्म एक लाख सात हजार ९४९ जना शरणार्थीको पुनर्बास भइसकेको छ।  नेपाली बनाइयोस् भनेर शरणार्थीको झुप्रो कुरेर बसिरहेका लक्षुमन गुरुङ, चन्द्रबहादुर भट्टराई र भक्तबहादुर थापा।