• १३ साउन २०८१, आइतबार

एकतीस वर्ष प्रतिस्पर्धा, अहिले सहयात्रा

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, कात्तिक २६ गते । अर्थमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा र नेपाली कांग्रेसका नेता गोपालजीजङ्ग शाह अहिले चुनावी अभियानमा सँगसँगै हुनुहुन्छ। यद्यपि २०४८ सालदेखि उहाँहरू चुनावी प्रतिस्पर्धीका रूपमा हुनुहुन्थ्यो। अहिले गठबन्धन सहकर्मीका रूपमा सँगसँगै हुनुहुन्छ। 

सत्ता गठबन्धनको तर्फबाट शर्मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ। शाह निर्वाचन परिचालन समितिको संयोजक हुनुहुन्छ। 

२०४८ सालमा तत्कालीन जनमोर्चाबाट चुनाव लडेका शर्मालाई शाहले पराजित गर्नुभएको थियो। २०५२ देखि नेकपा (माओवादी)ले सशस्त्र सङ्घर्ष सुरु ग-यो। नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि शर्मा पुनः चुनावी प्रतिस्पर्धामा उत्रनुभयो। 

२०७० सालको चुनावको मैदानमा शर्मा र शाह दोस्रो पटक आमनेसामने हुनुभएको थियो। शर्माले २०४८ सालमा बेहोरेको हारलाई २०७० जितमा रूपान्तरण गर्नुभयो। त्यसपछि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि कांग्रेसले शाहलाई र माओवादीले शर्मालाई नै उम्मेदवार बनायो। उहाँहरू बीच तेस्रो प्रतिस्पर्धा भयो। यसमा पनि बाजी शर्माले नै मार्नुभयो। 

शाह चुनावी कमान्डर

२०४८ सालदेखि प्रतिस्पर्धा गर्दै आउनुभएका आएका शर्मा र शाह बीचको सम्बन्ध निर्वाचनमा मात्र होइन अन्य समयमा पनि खास राम्रो हुन सकेको थिएन। सार्वजनिक कार्यक्रममा एक अर्काप्रति खरो प्रतिवाद गर्ने उहाँहरूको भाषण भने अहिले फेरिएको छ। एकअर्काविरुद्ध आलोचना तथा गाली गरेर नथाक्ने दुई नेताहरू अहिले एक अर्काको प्रशंसा गरेर नथाक्ने अवस्था रहेका छन्।

शाहले राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र नहुने र हिजो एकअर्कालाई हराउन लागे पनि आज म शर्मालाई जिताउन लागिपरेको बताउनुभएको छ। समयको माग र राष्ट्रको आवश्यकताले आफूहरूलाई एक ठाउँमा ल्याएको उहाँले भनाइ छ। 

द्वन्द्वको तिक्तता मेट्ने अवसर

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा रुकुमपश्चिममा पहिलो पटक नेपाली कांग्रेस उम्मेदवारविहीन भएको छ। गठबन्धनअनुसार एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको रुकुमपश्चिमका सबै क्षेत्र माओवादीको भागमा परेका छन्। कांग्रेसभित्रको व्यापक असन्तुष्टिबीच अन्ततः कांग्रेस र माओवादी एउटै मञ्चमा अटाएका छन्। 

जिल्लामा कांग्रेस र माओवादीका बीचमा ठूलो तिक्तता छ। माओवादी जनयुद्धदेखि नै माओवादी र कांग्रेस एकअर्काप्रति जाइलाग्दै आएका छन्। त्यो अहिलेसम्म पनि कुनै न कुनै रूपमा बाँकी नै छ। अहिलेको गठबन्धनलाई धेरैले कांग्रेस र माओवादी बीचको तिक्तता कम गर्ने अवसरका रूपमा पनि हेरिरहेका छन्। गठबन्धन दलहरूले संयुक्त चुनावी सभा सुरु गरेपछि जिल्लामा कांग्रेस र माओवादी पहिलो पटक एकै ठाउँमा उभिएका हुन्।